
निर्वाचन पूर्वको अवस्था बारे इन्सेकद्वारा अनुगमन तथा छलफल
गोरखा । २०७९ कात्तिक ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक २८ गते निर्वाचन पूर्वको अवस्था बारे प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख तथा सरोकारवालासँग छलफल गरेको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेल, कार्यक्रम अधिकृत शवनम शर्मा, इन्सेकद्वारा गठित मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारी, नियोगका अध्यक्ष वासु खत्री, नियोगका सचिव रमेश अधिकारी लगायतको टोलीले सरोकारवालासँग छलफल गरेको हो । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले विगतका चुनावको तुलनामा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आचार संहिता उल्लङ्घनमा कमि आएको बताउनुभयो । तर पूर्ण रूपमा आचार संहिता पालना नभएको उहाँले बताउनुभयो । ‘मौखिक र लिखित रूपमा केही उजुरीहरू आएका छन्, पालुङटार नगरपालिका क्षेत्रका बाटोमा ब्यानर, पम्पलेट टासेको गुनासो आएपछि हटाउन लगायौँ,’ उहाँले भन्नुभयो, ‘पहिलेभन्दा आचार संहिता पालना भएको छन्, तर पूर्ण रूपमा पालना भएको छैन ।’ निर्वाचन प्रचारको समय सिमाले खर्च पनि कटौती भएको पाइएको सरोकारवालाले बताए । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले मतदाताले सुरक्षाको अनुभूती गरेको दाबी गर्नुभयो ।
आचार संहिता पालना गराउने विषयमा सचेत रहेको उहाले बताउनुभयो । कात्तिक २७ गते रातीको गोरखा क्षेत्र नम्वर २ का उम्मेदवार अब्दुस मियाको प्रचार टोली माथि भएको आक्रमण अत्याधिक मादक पदार्थ सेवनले भएको उहाँले बताउनुभयो । निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले आचार संहिता उल्लङ्घनको लिखित र इमेलबाट आउने गुनासोलाई सम्बोधन गरेको बताउनुभयो । ‘उजुरीलाई समाधान गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘आचार संहिता पालना गराएर गोरखाबाट पनि अन्य ठाउँका मानिसले केही सिकुन भनेर सचेत छौँ ।’ यसैबीच कात्तिक २८ गते नै निर्वाचन पर्यवेक्षणमा खटिने पर्यवेक्षकलाई अभिमुखिकरण दिइएको छ । निर्वाचनका वेला पर्यवेक्षकको भुमिका लगायतका विषयमा इन्सेक गण्डकी प्रदेश कार्यालयका प्रमुख खकुरेल र कार्यक्रम अधिकृत शर्माले अभिमुखिकरण दिनुभएको हो । गोरखामा इन्सेकबाट ६ जनाले पर्यवेक्षण गर्दै छन् । पर्यवेक्षण अभिमुखिकरणमा नियोगका सचिव रमेश अधिकारीले पर्यवेक्षकबीच समन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो । कात्तिक २८ गते नै इन्सेक टोलीले पालुङ्टार नगरपालिका क्षेत्रको पनि स्थलगत अनुगमन गरेको छ । पालुङटार नगरपालिका–२ आपपिपलकी ताराकुमारी श्रेष्ठले खेतिपातीको सिजन भएकाले निर्वाचनको माहौलले स्थानीयलाई जागरुक नबनाएको बताउनुभयो । ‘डर, धाक, धम्की त्यस्तो दिएको थाहा पाएका छैनौ,’ उहाँले भन्नुभयो । आपपिपलकै ओम माया बानियाले गठबन्धन भएकाले प्रचार प्रसारले तिव्रता नभएको बताउनुभयो । ‘प्रचार प्रसारमा पैसा बाडेको थाहा पाएको छैन, भित्र भित्र बाँडेको भए थाहा छैन,’ उहाँले भन्नुभयो ।
त्यस्तै पालुङटार नगरपालिका परिसरमा भएमो नमूना मतदानको पनि इन्सेक टोलीलले अनुगमन गरेको थियो । नमूना मतदान कार्यक्रममा पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन, उपप्रमुख वन्दना पाण्डेसँग छलफल भएको थियो । पालुङटारमै भएको सत्तारुढ गठबन्धनको सभा स्थलको पनि अनुगमन गरिएको थियो । पालुङटार नगरपालिका क्षेत्रको अनुगमनको क्रममा निर्वाचन आचार संहिता विपरीत सार्वजनिक स्थलमा तुल, ब्यानर तथा तोरण टागेको पाइएको छ । सक्तारुढ गठबन्धन अन्तरगतको नेकपा माओवादी केन्द्रका चुनाव चिह्न अङ्कित पोस्टर, झण्डा, राप्रपा नेपाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीको आचार संहित विपरीत राखेको निर्वाचन चिह्न अङ्कित व्यानरहरू तथा तोरण भेटिएको थियो । यसैगरी कात्तिक २८ गते नै इन्सेकको टोलीले गोरखाका पत्रकारसँग स्वच्छ भयरिहत र निष्पक्ष निर्वाचन सबैको सरोकार विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यालयका प्रमुख खकुरेलले कात्तिक २८ गते इन्सेकले अनुगमनका क्रममा पाएको निर्वाचन आचार संहिताको विषयमा जानकारी गराउनुभएको थियो । सभाहरूमा बालबालिकाको प्रयोग भएको नपाइएको भए पनि सार्वजनिक स्थलमा आचार संहिता विपरीत तुल, ब्यानर, पोष्टर टाँसेको पाइएको उहाँले बताउनुभयो । निर्वाचन आचार संहितालाई पालनामा सचेत गराउनका लागि खबरदारी र साझेदारी गर्नुपर्ने उहाँले बताउनुभयो ।
अपाङ्ग मैत्री मतदान केन्द्र बनाउनका लागि इन्सेकले पहल गरिरहेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा नियोगका अध्यक्ष वासु खत्रीले चुम नुव्री लगायतका गाउँपालिकामा पर्यवेक्षण गराउन नसकिएको बताउनुभएको थियो । नियोगका सचिव रमेश अधिकारीले नियोगबाट १६ जनाले आसन्न निर्वाचनमा पर्यवेक्षण गराउने बताउनुभयो । पत्रकार महासङ्घका गोरखा शाखाका अध्यक्ष नरहरि सापेकाटले निर्वाचनसम्बन्धी गतिविधि कम हुँदा आचार संहिता उल्लङ्घनमा पनि कमी आएको बताउनुभयो । ‘पर्यवेक्षण गर्ने सङ्घ संस्था राजनितिक दलमा संलग्न हुदा समस्या हुदो रहेछ,’ उहाँले भन्नभयो । पत्रकार अन्तरक्रियामा बोल्दै मानव अधिकार संजालका संयोजक यदु अधिकारीले शहरमा माइकिङ गरेर प्रचार गर्ने गरेको देखिएको र सचेत गराउनुपर्ने बताउनुभयो ।
हरिराम उप्रेती