निर्वाचन पूर्व अवस्थाबारे इन्सेकको अनुगमन
अर्घाखाँची । २०७९ मङ्सिर १ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अनुगमन टोलीले कात्तिक ३० गते अर्घाखाँची जिल्लाको निर्वाचन पूर्व अवस्था र तयारीकाबारे जिल्लाको अनुगमन गर्नुको साथै सरोकारवाला निकायहरू सँग छलफल गरेको छ । इन्सेक केन्द्रीय कार्यसमितिका सदस्य शोभाकर बुढाथोकीले अनुगमन तथा छलफलको उद्देश्य माथि प्रकास पार्दै निर्वाचनलाई भयरहित, निश्पक्ष र स्वच्छरुपमा मतदाताहरूले मतदान गर्न पाउने वातावरण बनाउन जिल्लामा तत्काल आउन सक्ने चुनौती र नियन्त्रण, सङ्रक्षणका उपायबारेमा सहभागीको ध्यान केन्द्रीत गराउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले निर्वाचनलाई भयरहित, निश्पक्ष र स्वच्छ बनाउन निर्वाचनका सम्पूर्ण कार्य सम्पन्न गरेको, कर्मचारी, सुरक्षाकर्मीको व्यवस्था र सुरक्षा मोवाइल टोलीको समेत व्यबस्था गरिएको बताउनु भयो ।
घिमिरेले निर्वाचन आचारसंहिता बिपरित कार्य गर्ने र पालना नगर्ने दलका उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई लिखित स्पष्टिकरण सोधिएको बताउनु भयो । कार्यक्रममा इन्सेक केन्द्रीय कार्य समिति सदस्य शोभाखकर बुढाथोकी, इन्सेक केन्द्रीय कार्यालयका प्रतिनिधि कृष्ण गौतम, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत र अर्घाखाँची प्रतिनिधि कूलबहादुर नेपाली सहितको टोलीलेसरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गरेको थियो ।
कूलबहादुर नेपाली