‘नीति तथा कानुन निर्माणमा नागरिक सहभागिता’ सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न
धनुषा । २०७७ मङ्सिर १५ गते
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा मङ्सिर १५ गते ‘नीति तथा कानून निर्माणमा नागरिक सहभागिता’ सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अर्थशास्त्री डाक्टर सुरेन्द्र लाभले नीति तथा कानुन निर्माणमा नागरिक समाजको सहभागितासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ मा आपराधिक घटनाहरूमा वृद्धि भएकाले यसतर्फ सङ्घीय सरकार र प्रदेश सरकारलगायत सरोकारवाला पक्षहरूलाई ध्यानाकषर्ण गराउनुभएको छ ।
मन्त्री यादवले आरोपितहरूको संरक्षण कार्य राजनीतिक तह र सरकारकै प्रतिनिधिहरूमार्फत भई रहेकोमा दुःखद् व्यक्त गर्नुभयो । मन्त्री यादवले प्रदेश सरकारले ल्याएका विधेयकहरू सम्बन्धित विज्ञहरूकै सरसल्लाह र छलफल पश्चात् ल्याएको दावी गर्नुभयो । उहाँले भन्नु भयो–‘१ सय १५ ओटा कानुन प्रदेश सरकारको आवश्यकता रहेको छ । आवश्यकता अनुसार नै कानुन निर्माणमा प्रदेश सरकार अगाडि बढिरहेको हो ।’ कार्यक्रममा नेकपाका प्रदेश सांसद मञ्जु यादवले छलफल बिना नै प्रदेश सरकारले विधेयक निर्माण गरिहेकाले प्रतिपक्ष र सांसदको औचित्यतामाथि प्रदेश २ सरकारले खेलवाड गर्दै आएको आरोप लगाउनुभयो ।
सांसद यादवले आफू प्रदेश सरकारको प्रतिपक्षको भूमिका निर्वाह गर्दा पनि नागरिक सम्वादको दवाव नभएको कारण प्रभावकारी हुन नसकेको बताउनुभयो । प्रदेश सरकार गठन भएको तीन वर्षमा पनि प्रदेशको नाम र राजधानी तोक्न नसक्नु दुःखद् कुरा भएकाले अब नागरिक समाजले प्रदेश २ को नाम र स्थायी राजधानीको लागि सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आएको उहाँको भनाइ छ । नेपाली कांग्रेसकी सांसद चमेलीदेवी दासले अहिलेपनि समाजमा विभेद रहेकाले नागरिक समाज अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले दलितप्रतिको विभेदपूर्ण घटनाहरू बाहिर आउँदा पनि समाज मौन बस्नुले परिवर्तनको बाधक समाज नै रहेको बुझिने बताउनुभयो । कार्यक्रममा एड्भोकेसी फोरमका संयोजक राजकुमार महासेठले नीति वा कानुन निर्माण गर्दा विज्ञहरूको टोलीसँग सरसल्लाह र छलफल गरी ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकको सहभागितामा कानुन निर्माण हुनुपर्ने, कानुन निर्माण पश्चात् कार्यान्वयन पक्ष बलियो हुनु पर्ने, दीर्घकालिन सोचका साथ कानुन निर्माणको आवश्यकता रहेकोमा महासेठले जोड दिनुभयो ।
दिपेन्द्रप्रसाद सिंह