नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न

सुर्खेत । २०७९ असार ३१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालाले हाम्रो समाजमा नेता भनेको राजनीतिक गर्ने व्यक्ति मात्र नेता हुन अरु नेता बन्न सक्दैनन् भन्ने जुन चिन्तन छ त्यसलाई अन्त्य गरी जो कोही नेता हो र नेता बन्न सक्छ । नेतामा हुनुपर्ने गुण र शैलीको विकास गर्नुपर्नेमा जोड दिनु भयो । तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्न सहभागिहरूलाई अनुरोध गर्दै प्रजिअ रिजालले सरकारको पहुँचमा नरहेका नागरिकहरूको आवाजलाई सरकारसम्म पु¥याउन मानव अधिकार रक्षकले सहयोग गर्नुपर्ने सुझाव दिनु भएको छ । अन्यायमा परेका पीडितलाई न्यायिक प्रकृयामा पु¥याउन मानव अधिकार रक्षकले सहयोग गर्नुपर्ने बताउँदै तालिममा सिकेका ज्ञानको आधारमा समाजमा नमुनायोग्य नेतृत्व र पैरवी गर्न प्रजिअ रिजालले सहभागिलाई शुभकामना दिनु भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीले स्थानीय तहमा रहेका मानव अधिकारका सवाललाई समयमा सही तरिकाले पैरवी गर्नसके अधिकांश समस्या स्थानीय तहबाट समाधान हुने बताउनु भयो । तालिम असार २९ गतेबाट सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको थियो । तालिमको समापन सत्रमा इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले असल नेतृत्वले घर, समाज र देश राम्रोसँग अगाडि बढाउन सक्ने बताउँदै सहभागिलाई असल नेतृत्व गर्नुपर्नेमा जोड दिनु भयो । समुदायमा धेरै समस्या हुनसक्ने बताउँदै समस्याको प्राथमिकीकरण गरी समुदायका साझा सवालमा पैरवी गर्न सहभागिलाई संयोजक सुवेदीले सुझाव दिनु भयो ।

इन्सेकले स्थापनाकालमा ठेला मजदुर, त्यसपछि कमैया मुक्ति अभियान, महिलाको राजनीतिमा सहभागिता, श्रमिकको ज्याला दर निर्धारण, संकटकाल र मानव अधिकार, शान्ति र लोकतन्त्र लगायतका विषयमा पैरवी गरेको संयोजक सुवेदीले जानकारी गराउनु भयो । दैलेख र सुर्खेतका पालिका तहका २८ जना मानव अधिकार रक्षक तालिममा सहभागि रहेका थिए । तालिममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रध्यापक डा. अर्जुनबहादुर ऐडी, एसओएस वालग्रामका प्रिन्सिपल हरिहर बस्नेत, इन्सेक सुदुरपश्चिम प्रदेशका संयोजक खड्कराज जोसी, इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, कार्यक्रम संयोजक किरण पौडेल र कार्यक्रम अधिकृत परिस्कृत पौडेलले इन्सेक अभियान, नेतृत्व र नेतृत्व शैली सम्बन्धी आधारभूत अवधारणा, सामाजिक संरचना र नेतृत्वको सामाजिकीकरण, प्रभावकारी नेतृत्वमा हुनुपर्ने गुणहरू, समय, तनाव तथा द्वन्द्व व्यवस्थापन, प्रभावकारी नेतृत्वमा हुनु पर्ने गुणहरू लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो । 
 

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत