नेपालगञ्जस्थित हर्ष किर्ति महाविहारको संरक्षण र व्यवस्थापनको लागि ज्ञापन पत्र

बाँके । २०८१ साउन १ गते

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसर भित्र रहेको हर्ष किर्ति महाविहार (बौद्ध मन्दिर) को सम्पत्तिको संरक्षण र मन्दिरको समुचित व्यवस्थापन गर्न नागरिक समाज एवम् मानव अधिकरकार्मीहरूले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ०८१ साउन १ गते ज्ञापन पत्र बझाएका छन् ।

उक्त मन्दिर परिसर भित्र रहेका हर्ष किर्ति महाविहारमा रहेको सम्पत्तिको संरक्षण, आयव्ययको अभिलेखिकरण, मन्दिरमा भक्तजनले चढाउने गरेको दान दक्षिणा तथा विशेष पूजा वापत प्राप्त हुने चल अचल सम्पत्तिलाई व्यवस्थित र एकिकृत गर्ने, समिति मार्फत मन्दिर व्यवस्थापनको कार्य सञ्चालन गर्ने, बौद्ध मन्दिरको सरसफाई लगायत मन्दिरको व्यवस्थापनका विषयमा समस्या रहेको जनगुनासो आएपछि मन्दिरको समुचित व्यवस्थापन गर्न उक्त समूहले अनुगमन गरी प्रमुख जिल्ला अधिकारी रिजाललाई ज्ञापन पत्र बझाएको हो ।

समस्या सार्वजनिक सरोकारको विषयमा भएकाले मठमन्दिर लगायतका सार्वजनिक सम्पत्तिको संरक्षण र समुचित व्यवस्थापन गर्नु स्थानीय सरकार, प्रहरी प्रशासनको जिम्मेवारी र दायित्त्व रहेकाले निम्न सवालहरूको उठान सहित यो निवेदन पेश गरिएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य एवम् एडभोकेसी फोरम, लुम्बिनी प्रदेश कार्यालयका संयोजक अधिवक्ता बसन्त गौतमले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले ज्ञापन पत्र बुझ्दै बागेश्वरी मन्दिर परिसर भित्र रहेको हर्ष किर्ति महाविहारको सम्पत्तिको संरक्षण र मन्दिरको व्यवस्थापन गर्नको लागि आफूहरूले अनुगमन गरी ज्ञापन पत्रमा उल्लेख भएका समस्याहरूको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी सोही व्यहोराको निवेदन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त मेयरलाई पनि बुझाइएको छ । मेयर कार्यालयमा अनुपस्थ्ति रहेकाले निजका स्वकिय सचिव सुबोध शर्मा मार्फत ज्ञापन पत्र बुझाइएको इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत सरस्वती मल्लले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य एवम् एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत सरस्वती मल्ल, अधिकृत सोम नेपाली, मानव अधिकार तथा सामाजिक न्याय मञ्चका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी, नागरिक समाजका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी लगायतको सहभागिता रहेको थियो ।

ध्रुबराज शर्मा