नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ का लागि वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । २०८० मङ्सिर २६ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ को लागि सङ्कलित घटनाहरुको वार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम ०८० मङ्सिर २६ गते दमौलीमा सम्पन्न भएको छ । वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । इन्सेकको तथ्याङ्क अनुसार तनहुँमा सन २०२३ मा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका ८७ ओटा घटनाबाट ९५ जना पीडित भएका छन् । सो कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०२३ मा तनहुँमा भएका मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरु सार्वजानिक गर्नु भएको थियो । यो अवधिमा भएको ८७ ओटा मानवअधिकार उल्लंघनका घटनामा ७४ महिला र २१ पुरुष सहित ९५ जना पीडित भएका छन् । जसमा घरेलु हिंसा तर्फ सबैभन्दा धेरै ४३ ओटा घटना भएका छन् । त्यस्तै बलात्कार, बलात्कार प्रयास र यौनजन्य दुर्व्यवहार तर्फ २३ ओटा घटना भएका छन् । कुटपिट दुर्व्यवहारमा ६ ओटा, हत्यामा ७, सम्पत्ती कब्जा २, सम्पत्ती तोडफोड २, जातीय विभेदको १, गिरफ्तार, १ स्वास्थ्यको अधिकार सम्बन्धीका २ ओटा घटना भएका छन् ।

कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सरकारले मानवअधिकारको उल्लंघन गर्ने नभई संरक्षण गर्ने बताउनु । मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी हुनु अघि नै सरकारले मानवअधिकारको संरक्षणको लागि काम गरेको उहाँले बताउनु भयो । इन्सेक जस्ता मानवअधिकारका संघ संस्थाले राज्यलाई मानवअधिकार कार्यान्वयनको लागि समय समयमा खबरदारी गरिरहनु पर्ने उहाँले बताउनु भयो । मानवअधिकार र मौलिक हकलाई व्यवस्थित गर्न राज्यले कानुनहरु बनाएको र ति कानुनहरुको कार्यान्वयन भएमा नै मानवअधिकारको पनि प्रत्याभूती हुने उहाँले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँडले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताउनु भयो । मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आइरहेको भन्दै उहाँले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनु भयो ।

         

प्रहरीले मानवअधिकारको उल्लंघन गर्‍याे भन्ने गुनासो आउन नदिने उहाँले प्रष्ट पार्नु भयो । इन्सेकले मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा राज्यलाई सहयोग गर्दै आएको उहाँको भनाई थियो । नेपाली काँग्रेसका जिल्ला प्रवक्ता हरिप्रसाद वाग्लेले मानवअधिकारको संरक्षणकोलागि नेपाली काँग्रेस सँधै प्रतिबद्ध रहेको बताउनु भयो । लक्षित सुदायमा मानवअधिकार प्रति सचेतना जगाउन सकेमा मानवअधिकारको संरक्षण र सम्बद्र्धन हुने उहाँले बताउनु भयो । उहाँले मानवअधिकारको संरक्षणमा इन्सेकले पुर्‍याएको योगदान महत्वपुर्ण रहेको बताउनु भयो । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सिताराम सुर्खालीले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताउनु भयो । इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार हुने उहाँको भनाई छ । इन्सेकको प्रतिबेदनले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उहाँले मानव अधिकारको विषय विश्वव्यापी र सबैकोलागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताउनु भयो

नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव बसन्त दरैले समाजमा भएका चोरी र अन्य अपराधिक घटनालाई पनि वर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताउनु भयो । सबैले शान्ति प्रक्रियालाई सहयोग गर्ने खालको कार्यक्रम गर्नु पर्ने उहाँले जोड दिनु भयो । गैसस महासंघकी सचिव एवं नेपाल बार एसोसियसनको मानवअधिकार तथा जनसरोकार समितिका संयोजक सरिता थापा भण्डारीले शिक्षा, स्वास्थ्य र खाद्यका विषयलाई पनि मानवअधिकार वर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताउनु भयो । अदालतमा विचाराधिन मुद्दाको विषयमा मानवअधिकार वर्ष पुस्तकमा राख्न नहुने उहाँको भनाई थियो । महिला मानव रक्षक सन्जालकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महिला मानवअधिकार रक्षक सन्जालकी जिल्ला सदस्य सिर्जना तिवारी, नेपाल बार एसोसियसनका सचिव हरिमान श्रेष्ठ, पत्रकार महासंघ तनहुँका पुर्व उपाध्यक्ष नारयण खड्का, अपाङ्गता अधिकारकर्मी मदन पौडेल, पत्रकारहरु विकास खनाल, माधव पौडेल, शंकरराज नहर्की लगायतले सुझाव र जिज्ञासा राख्नु भएको थियो ।

प्रकाशचन्द्र भट्टराई