नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक समीक्षा सम्पन्न

कास्की । २०८१ असार १९ गते

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि कास्की जिल्लामा संकलित घटनाहरुको  अर्धवार्षिक समीक्षा कार्यक्रम असार १८ गते सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा सन् २०२४ जनवरीदेखि जुनसम्मका ६ महिनाका घटनाहरूका विषयमा सरोकारवालाहरुसँग समीक्षा कार्यक्रम गरिएको थियो । इन्सेकले संकलन गरेको घटनामाथि त्रुटि सच्चाउने र छुटेका घटना समावेश गर्ने उद्देश्यले अर्धवार्षिक समीक्षा कार्यक्रम गरिएको हो ।

कास्की जिल्ला प्रतिनिधि संजय रानाभाटले ६ महिनादेखिका घटनालाई प्रस्तुत गर्नुभएको थियो । रानाभाटका अनुसार इन्सेकले कास्की जिल्लामा सन् २०२४ जनवरीदेखी जुनसम्म ९३ ओटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना इन्सेकले अभिलेख गरेको बताउनुभयो । बालअधिकार अन्तर्गत आठ ओटा घटना रहेका छन् । ती मध्ये बालिका बलात्कारका तीन ओटा, यौन दुव्र्यवहार तीन ओटा, मानव बेचबिखन एक ओटा रहेका छन् । यस्तै, अमानवीय व्यवहार तथा दुव्र्यवहारका १६ ओटा, कुटपिटका ६ र एउटा हत्याको घटना भएको छ । यस्तै, महिला अधिकारसम्बन्धी घरेलु हिंसाका ५३ ओटा, बलात्कारका चार ओटा, बहुविवाहका तीन र मानव बेचविखनका दुई ओटा घटना इन्सेकले अभिलेख गरेको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्तबहादुर कुँवरले यति धेरै घटना घट्नु दुखद भएको सुनाउनुभयो । इन्सेकले संकलन गरेका घटनालाई राज्यले सचेत भएर आगामी दिनमा यस्ता घटनालाई न्यूनीकरण गर्न लाग्नुपर्ने उहाँको भनाइ थियो । ‘हिजो कुनै दिन म पनि इन्सेक जिल्ला प्रतिनिधि भएर काम गरेको मान्छे हुँ, इन्सेक जिल्ला प्रतिनिधिले जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि काम गर्नुपर्ने बताउनुभयो । उहाँले घटना न्युनीकरणलाई पहिलो प्राथमिकतामा राखेर सरकारी तथा गैरसरकारी निकाय बढी उत्तरदायी बन्नुपर्ने उहाँले औंल्याउनुभयो । राज्य मानवअधिकारका कुरामा गम्भीर र संयमित हुन आवश्यक रहेको उहाँले सुनाउनुभयो । ‘काम गर्दै जाँदा राज्यकोतर्फबाट दवाब आउँछ । त्यसबेला संयमित भएर काम गर्नुपर्छ । यसका लागि पालिकाका न्यायीक समिति सक्रिए हुनुपर्छ,’ उहाँले भन्नुभयो । इन्सेकले पछिल्लो समय मानवअधिकारको क्षेत्रमा वाच डगको रुपमा काम गरेकाले यसलाई निरन्तरता दिन आवश्यक रहेको सुनाउनुभयो ।

       

कार्यक्रममा बोल्दै मानवअधिकार आयोगका अधिकृति खिमलाल सुवेदीले इन्सेकले मावनअधिकार रक्षाका लागि उल्लेखनीय काम गरेको सुनाउनुभयो । जिल्लामा मानवअधिकारको अवस्था कस्तो रह्यो भन्ने कुरा इन्सेकको अभिलेखले संकेत गरेको उहाँको भनाई थियो । मानवअधिकार उल्लंघनमा राज्य संलग्न हुने र अपराधमा आम मान्छेको संलग्नता हुने उहाँले सुनाउनुभयो । ‘प्रहरीमा सहजै उजुरी दर्ता नहुनु पनि मानवअधिकार उल्लंघन हो’ उहाँले बताउनुभयो । उहाँले इन्सेकले आगामी दिनमा अझ परिस्कृत हुँदै डाटाहरु प्रस्तुत गर्दा राज्यपक्षबाट भएका घटनालाई छुट्टै अभिलेख गर्न अनुरोध गर्नुभयो ।

जिल्ला समन्वय समितिका समन्वय अधिकारी नवराज बरालले धेरै जनसंख्या भएको पोखरामा अझै धेरै मानवअधिकार उल्लंघनका घटना भएको हुन सक्ने सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ अझै लुकेर बसेको सयौं घटनाहरु हुन सक्छन् । ती घटनालाई पनि बाहिर ल्याएर अभिलेख गर्नुपर्छ भन्ने लागेको छ ।’ ‘हिंसामा परेका महिलालाई सेफ हाउसमा राख्नुपर्छ तर, पोखरामा  बन्दै गरेको सेफ हाउस लथालिंग भएको देख्दा दुख लाग्छ,’ उहाँले भन्नुभयो । घटना घटेपछि होस्टाइल हुने प्रवित्ति बढेकाले वारदात मतियारहरुलाई पनि कारबाही हुनुपर्ने उहाँले सुनाउनुभयो ।

कार्यक्रमा बोल्दै पोखरा महानगरपालिका बालकल्याण अधिकारी बेलकुमारी गुरुङले महानगरले बालश्रमिकलाई उद्धार गरेको सुनाउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीकी हवल्दार रजन्ती कुँवरले प्रहरी कार्यालयमा उजुरी दर्ता भएपनि अदालतमा पुगेर होस्टाइल हुने कुरा दुखद भएको सुनाउनुभयो ।

इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले मानवअधिकार वर्ष पुस्तक प्रकाशनको मुख्य उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो । साथै उहाँले मानव अधिकारको सवालमा राज्यलाई नै जिम्मेवार बनाउनका लागि इन्सेकले सधै पहल तथा निगरानी गरिराखेको बताउनुभयो ।

कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिले इन्सेकले समेट्ने मानवअधिकारका घटनाहरुमा समाजमा भएका भ्रष्टाचार र बेथितिहरुलाई पनि समेट्नुपर्ने सुझाव दिएका थिए । साथै घटना घट्न नै नदिनेतर्फ सबैले सहकार्य गर्नुपर्ने र समाजलाई सुसूचित बनाउनुपर्ने कुरामा कार्यक्रममा उपस्थित सम्पूर्णले जोड दिएका थियो ।

सन्जय रानाभाट