नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

गोरखा । २०७८ साउन १ गते

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३१ गते सम्पन्न भएको छ । इन्सेक गोरखा प्रतिनिधिले कार्यक्रममा सन २०२१ को जनवरीदेखि जुनसम्ममा इन्सेकद्वारा अभिलेख गरिएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सहभागी एवम सरोकारवालाहरुले जिल्लामा बालबालिकामाथि हुने यौनजन्य हिंसामा न्यूनिकरण नभएकोमा चिन्ता जनाएका थिए । मानवअधिकार सञ्जालका संयोजक यदु अधिकारीले ६ महिनाको अवधिमा बालबालिकासँग सम्बन्धित ६ ओटा यौनजन्य घटना भएको र यस्ता घटना न्यूनिकरणका लागि जनचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । पीडितलाई न्याय र दोषीलाई कानुनी दायरमा ल्याउन सके यस्ता घटना न्यूनिकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

नेपाल बार एशोसिएशनका जिल्ला अध्यक्ष यादव बस्नेतले मानवअधिकार वर्ष पुस्तकमा सवै प्रकारका हिंसाका घटना समेट्न सुझाव दिनुभयो । उहाँले वर्ष पुस्तकमा मानिसहरुको जनजीवनमा कोभिड–१९ ले पारेको प्रभावका साथै बाढी पहिरो पीडितका कुरा पनि समेट्न सुझाव दिनुभयो । इन्सेकको अभिलेख अनुसार गोरखामा ६ महिनामा २० ओटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु भएका छन् । जसमध्ये बालअधिकार हननका १४ ओटा, महिला अधिकारका पाँच ओटा र जातीय विभेदको एक घटना रहेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष नरहरी सापकोटा, नेपाल पत्रकार महासङ्घका गण्डकी प्रदेश सचिव सुशिलबाबु श्रेष्ठ, नागरिक साझा सवालका संयोजक तथा अधिवक्ता स्थानेश्वर दवाडी, महिला मानवअधिकार रक्षक सञ्जालकी सावित्री भट्ट लगायतको उपस्थिति रहेको थियो ।

हरिराम उप्रेती