नेपाल मानव अधिकार वर्षपुस्तक अर्धवार्षिक समीक्षा सम्पन्न
दोलखा । २०८१ असार १८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्ने नेपाल मानव अधिकार बर्ष पुस्तक–२०२५ को अर्धवार्षिक समीक्षा चरिकोटमा ०८१ असार १७ गते सम्पन्न भयो । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधले सन् २०२४ को पहिलो अर्धवार्षिकमा बाल यौन दुरुपयोगका नौ ओटा, वैवाहिक बलात्कार तथा भ्रुण हत्याको एक, जातीय विभेदको एक, कर्तव्य ज्यानको दुई, ज्यान मार्ने उद्योगको दु्ई, कुटपिटको दुई, बहुविवाहको दुई ओटा गरी जम्मा १९ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको विवरण प्रस्तुत गरेका थिए । यसै गरी सोही अवधिमा महिला, बालबालिका तथा जेष्ठ नागरिक केन्द्रमा शारीरिक यातनाका चार ओटा निवेदन परेकोमा दुई ओटा मिलापत्र भई दुई ओटा घटनाका पीडित सम्पर्कमा नआएको, मानसिक यातनाको एक घटना दर्ता भएकोमा हाल सम्पर्कमा नआएको, आर्थिकमा तीन ओटा दर्ता भएकोमा एक मिलापत्र दई दिई ओटा घटनाका पीडित सम्पर्कमा नआएको विवरण समीक्षा कार्यक्रममा पुस्तुत भएका थिए ।
कार्यक्रमका सहभागीहरूले इन्सेकले मानव अधिकारको संरुक्षणमा महत्वपूर्ण भूमिका खेलेकोमा दुई मत नरहेको भन्दै आगामी दिनमा नागरिक तथा राजनीतिक अधिकारका साथसाथै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका सवाललाई पनि उठाउनुपर्ने सुझाव दिइएको थियो । समाजमा शिक्षा, स्वास्थ्य, खाद्य लगायत संबिधानमा मौलिक हकको रुपमा उल्लेख भएको तर नागरिकले सहज उपभोग गर्न नसकेको विषयमा सचेतिकरण कार्यक्रम र खबरदारीको पहल गर्न समीक्षा कार्यक्रममा इन्सेकलाई आग्रह गरिएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आले, जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर जीवन श्रेष्ठ, महिला अधिकारकर्मी सृजना कार्की, पत्रकार महासङ्घका सिर्जन कुमार घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
उद्धव पोखरेल