








गोरखा । २०७७ पुस ३ गते
अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको आयोजनामा पुस ३ गते गोरखा सदरमुकाममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधिले २०२० जनवरी देखि डिसेम्बर १७ सम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख वक्ता जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङले महिला हिंसा तथा बलात्कारका घटनामा दोषी देखिएकालाई गम्भीरताका साथ कानुनी प्रक्रियामा लगिएको बताउनुभयो ।
केहि बलात्कारका घटनामा आरोपित फरार रहेपनि खोजि कार्यलाई तिव्र पारिएको उहाँको भनाइ थियो । महिला हिंसा न्यूनिकरणका लागि नागरिक समाज, पत्रकार र जनप्रतिनिधिस“ग समन्वय गरी जनचेतनामुलक कार्यक्रममा पनि जोड दिइएको एसपी गुरुङले बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले अझै पनि ग्रामिण भेगमा कतिपय महिला कानुनी ज्ञानको अभावमा हिंसा सहेर बस्न बाध्य भएको बताए । मानव अधिकार सञ्जालका सदस्य रमेश अधिकारीले इन्सेकले अभिलेख गरेका घटनाले जिल्लाको मानव अधिकारको स्थिती बुझाउने बताउनुभयो ।
मानव अधिकार उल्लङ्घनका घटनामा अधिकारकर्मीले विशेष चासो राख्नुपर्ने कार्यक्रमका सहभागीले बताए । स्थानीय तहको न्यायीक समितिमा आउने उजुरीलाई पनि वर्ष पुस्तकमा समेट्न सहभागीले सुझाव दिए । गोरखामा यो एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका ५४ घटनाहरु अभिलेख गरिएका छन् ।
जस मध्ये राज्य पक्षबाट गिरफ्तारी (प्रतिबन्धित नेपाल कम्युनिष्ट पाटी विप्लव नेतृत्व ) आठ घटना, गैरराज्य पक्षबाट बाल अधिकार अन्तरगत बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका १५ ओटा, महिलाविरुद्ध हुने सबै प्रकारका दुर्व्यवहार अन्तरगत बलात्कार, बलात्कार प्रयास, यौन दुर्व्यवहारका आठ ओटा, परिवारजनबाट भएका हत्याका दुई ओटा, तोडफोड–आगजनीको एक, घरेलु हिंसाका २६ ओटा, पत्रकारमाथि दुर्व्यवहारको एक र चिकित्सकमाथि दुर्व्यवहारको एक घटना अभिलेख गरिएको छ ।
हरिराम उप्रेती