नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा सम्पन्न
रोल्पा । २०७७ पुस ३ गते
इन्सेक रोल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस २ गते सम्पन्न भएको छ । सन् २०२० जनवरीदेखि हालसम्म जिल्लामा सङ्लन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरू इन्सेक रोल्पा जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नु भएको थियो । उक्त अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू मध्ये बम विस्फोट एक, बाल अधिकार अन्तरगत बलात्कार, यौन दुर्व्यवहारका पाँच वटा, महिला अधिकार अन्तरगत बलात्कार तथा बलात्कार प्रयासका सात वटा र घरेलु हिंसाका १५ वटा गरी ३३ वटा रहेका थिए । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नवराज शर्माले जिल्ला भित्र हुने गरेका कुनैपनि अपराधिक गतिविधिका क्रियाकलाप न्यूनिकरण गर्न जिल्लामा शान्ति शुरक्षा कायम गर्नुका साथै रोल्पाको सन्दर्भमा बलत्कार तथा यौन दुर्व्यवहार र घरेलु हिंसाका घटना बढी हुने गरेकाले यस्ता किसिमका गतिविधिमा सम्पुर्ण सरोकारवाला निकायहरूको ध्यानाकर्षण हुनेपर्ने र सम्बन्धितपक्षलाई लाई सचेत गराउनु पर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशराज सुवेदीले कुनैपनि घटनामा संवेदनशील भएर काम गर्नुपर्ने बताउनु भयो । मानिसको बाँच्न पाउने अधिकार माथि गम्भिर प्रश्न उठाईरहेका यस्ता समस्या बढ्न नदिन नागरिक सचेतना जरुरी रहेको इन्सेकका सधारण सदस्य घनश्याम आचार्यले बताउनु भयो । बलात्कार, यौन दुर्व्यवहार र घरेलु हिंसाका घटना वर्षेनी बढ्दै जानु चिन्ताको विषय भएको र यसको नियन्त्रणका लागि सरोकारवालाको चासो हुनुपर्ने र वर्ष पुस्तकमा घटना नछुटाउन स्थानीय तहका प्रत्येक न्यायिक समितिमासँग समन्वय र सहकार्य गर्नुपर्ने सहभागीहरूले सुझाव दिनु भएको थियो ।
हरिसरा घर्ती