








महोत्तरी । २०७८ पुस १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते बर्दिवासमा सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसेम्वरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीसँग सम्बन्धित ५२ ओटा घटनाहरू इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साहले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत घटनाहरूमध्ये यस वर्ष जिल्लामा पँच महिला र तीन पुरुष गरी अठ जनाको हत्या, २२ ओटा बलात्कार, नै ओटा बलात्कार प्रयास, तीन ओटा अपहरण, चार ओटा ‘बोक्सी’को आरोपमा कुटपिट, तीन ओटा बालविवाह, एउट जातीय विभेदसम्बन्धी छन् ।
कार्यक्रममा बर्दिवास नगरपालिकाकी उपमेयर सुशीला गौतमले घरेलु हिंसाका घटनाहरू मिलापत्रमा टुङ्गिन्छनन् । ‘घरेलु हिंसाका घटनामा कमी आउन सकेका छैनन् ।’–उहाँले भन्नु भयो । महिला अधिकारकर्मी उर्मिला कार्कीले मानव अधिकारको संरक्षण तथा प्रवर्धनका लागि इन्सेकलगायत सङ्घसस्थाहरूसँग समन्वय गरेर प्रहरीले काम गर्नु पर्ने बताउनु भयो । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक पीडितहरूको न्याय तथा राहत पाउनका लागि महत्वपूर्ण दस्तावेज बनेको नेपाल पत्रकार महासङ्घ महोत्तरीकी उपाध्यक्ष सुनिता बरालले बताउनु भयो । वर्दिवास नगरपालिकाकी प्रतिनिधि अनु खनालले इन्सेकले वर्षभरी भएका घटनाको अभिलेखिकरण गरेर राज्यलाई जिम्मेवार बनाएको बताउनु भयो ।
पत्रकार गोपाल बरालले नागरिक तथा राजनीतिक अधिकार जनताले पाएपनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार नागरिकले सहज रूपमा उपभोग गर्न नपाएकाले यसतर्फ पनि इन्सेकले राज्यलाई जिम्मेवार बनाउनलाई कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो । बर्दिवास नगर पत्रकार सञ्जालका अध्यक्ष विक्रम रौनियारले ज्ञान वा सूचनाको अभावमा पीडित पक्षको न्यायमा पहुँच अभिबृद्धि हुन नसकेकोले ग्रामीण क्षेत्रमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने बताउनु भयो । नेकपा माओवादीका वाइसीएल महोत्तरी संयोजक मनोज थापाले मानव अधिकार उल्लङ्घनका घटनामा कमी नआएकोले मानव अधिकार संरक्षणका लागि सरोकारवाला पक्षबिच सहकार्य आवश्यक रहेको बताउनु भयो ।
इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम