नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
सिन्धुली । २०७८ पुस २२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २१ गते सिन्धुलीमाढीमा सम्पन्न भएको छ । मानव अधिकारकर्मी तथा जेष्ठ नागरिक रामबहादुर हायुको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले नागरिक समाजको खबरदारिले मानव अधिकारको अनुभुति दिलाउन सकिने बताउनुभयो । उहाँले इन्सेकले जिल्लामा हुने गरेका मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनाहरूको अभिलेख राख्ने र सरोकारवाला निकायसँग छलफल गर्दा नीति र नेतृत्वलाई दबाब पुग्ने बताउनुभयो । उपाध्यक्ष देवकोटाले इन्सेकको पहलमा पीडितले न्याय पाउने गरेको बताउँदै नागरिक समाजको एकता आवश्यकता औँल्याउनुभयो । अरुलाई प्रश्न गर्ने भन्दा पनि आफूले के गरे भन्ने विषयमा जिम्मेवार निकायमा रहेका व्यक्तिहरूले सोच्ने बेला आएको बताँउदै सचेत नागरिकको सक्रियतापूर्ण सहभागिताले हिंसामुक्त समाज निर्माण गर्न सकिने उपाध्यक्ष देवकोटाले बताउनुभयो ।
इन्सेकले अभिलेख गरेका घटनाबाट स्थानीय सरकारलाई नीति तथा कार्यक्रम तय गर्न समेत सहयोग पुगेको भन्दै स्थानीय सरकारले पनि हिंसामुक्त समाज निर्माण गर्न कार्यक्रमहरू तय गर्न आवश्यक रहेको उहाँको धारणा थियो । समाजमा महिला तथा बालबालिका हिंसामा परेका घटना दिन प्रतिदिन बढ्दै आएकाले यस्ता घटना न्यूनीकरण गर्न सबैको साझा प्रयास हुन आवश्यक रहेको पनि देवकोटाले औँल्याउनुभयो । कार्यक्रममा न्युनतम पारिश्रमीक निर्धारण समितिकी सदस्य विमला पाण्डेले इन्सेकले प्रस्तुत गरेको प्रतिवेदन अनुसार जिल्लामा सबै भन्दा बढी महिला र बालबालीका नै पीडित भएका पाइएको बताउनुभयो । जिल्लामा राज्य पक्षबाट नै मानव अधिकारको उलङ्घन भएको र अन्य पक्षबाट मानव अधिकार उलङ्घनका घटना वृद्धि हुँदै गएको तथ्याङ्गकले देखाएको पाण्डेले बताउनुभयो । अन्तराष्ट्रिय ६ ठूला महासन्धीमा आधारित भएर आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालहरूलाई पनि नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेट्नु पर्ने उहाँले सुझाव दिनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका माणिक ढकालले जिल्लामा मानव अधिकारको अवस्था बारे इन्सेकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार समाजमा महिला र बालबालिका माथि हुने हिंसा समाजमा डरलाग्दो रुपमा बढ्दै गएको बताउनुभयो । बालबालिका र महिला असुरक्षित हुने समाजमा हिंसाका प्रकृति र सङ्ख्या बढ्दै गएकाले यस तर्फ राज्यले उपयुक्त नीति लिन आवश्यक रहेको ढकालले बताउनुभयो । ढकालले रोजगारीको ग्यारेन्टी नहुँदा युवा विदेश पलायन हुने, उनीहरू नेपाली नागरिक भएर पनि नेपालमा नै रोजगारी नुहँदा परिवारको पालनपोषणका लागि विदेश गए पनि कतिपय युवाले विदेशमा नै ज्यान गुमाउनु परेको, कतिपय युवा अंगभंग भएर नेपालमा आउने गरेका कारण आश्रित परिवार नै समस्यामा पर्ने गरेको बताउनुभयो । उहाँले जिल्लामा आत्माहत्या बढ्दो अवस्थामा रहेकाले इन्सेकले यस तर्फ पनि आफ्ना गतिविधि बढाउनसुझाव दिँदै स्थानीय तहमा आफुलाई भोट नदिएबापत केही स्थानीय तहका सरकारका प्रमुखले नागरिकले पाउने सेवा सुविधाबाट वञ्चित गराउने गरेका घटनाहरू पनि रहेकाले यस्ता घटनाहरू समावेस गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बार इकाई सिन्धुलीका अधिवक्ता जङ्गबहादुर राईले इन्सेकले विगत लामो समयदेखि जिल्लामा हुने गरेका मानव अधिकारको उलङ्घनका घटनाहरूको अभिलेख राख्ने र सरोकारवाला निकायसँग छलफल गर्ने भएकाले जिम्मेवार निकायलाई थप जिम्मेवार बनाउने बताउनुभयो । राईले सन् २०२१ जनवरीदेखि सन् डिसिम्बरसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरू वर्ष पुस्तकमा समावेश गर्नु पूर्व पुनःपुष्टि गर्न र सरोकारवालाहरूको सल्लाह, सुझाव लिन आग्रह गर्नु भयो । गोरखापत्र सिन्धुलीका समाचारदाता बाबुराम देवकोटाले प्रतिवेदनमा कम्तिमा तीन वर्षसम्मको तथ्याङ्क समावेस गर्न सुझाव दिनुभयो । यसले मानव अधिकार उलंघनका घटनाको लेखाजोखा गर्न सहज हुने बताउनुभयो । पूर्व समीक्षा कार्यक्रममा सिन्धुली जिल्लामा सन् २०२१ जनवरीदेखि डिसिम्बरसम्म सङ्कलन गरिएका ७९ घटनाहरू इन्सेक प्रतिनिधि नविनबावु अधिकारीले प्रस्तुत गर्नु भएको थियो ।
जिल्लाम राज्य पक्षबाट एक जना र गैर राज्यपक्षबाट ७८ जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ । बाल अधिकार उलङ्घनका ३८, महिला अधिकार उलङ्घनका ३६ र राज्यपक्षबाटै मानव अधिकारको उलङ्घन भएको एक, हत्या चार गरी जम्मा ७९ ओटा घटनाहरू इन्सेक प्रतिनिधिले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो । समिक्षा कार्यक्रममा सरकारी वकिल कार्यालयका युवराज परियार, जिल्ला प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीका हवल्दार रविन्द्र कुमार ठाकुर, नेपाल बाल सङ्गठन सिन्धुलीका अध्यक्ष लालबहादुर बुढाथोकी, जिल्ला स्तरीय मानव अधिकार सङ्जालका अध्यक्ष द्वारिका काफ्ले, नागरिक निगरानी सञ्जालका अध्यक्ष बेदराज दाहाल, मानव अधिकार रक्षक सञ्जाल सिन्धुलीका अप्सरा खड्का, अपाङ्ग महिला सङ्घ सिन्धुलीका बविता थापा, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका सचिव राजन गाउँले लगायत सहरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
नबीनबाबु अधिकारी