नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व समीक्षा कार्यक्रम सम्पन्न

मकवानपुर । २०७८ पुस २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) मकवानपुरको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२२ को लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व समीक्षा कार्यक्रम पुस २२ गते हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले देशमा भएका विभिन्न आन्दोलनले व्यवस्थाहरू परिवर्तन भए पनि समाजमा देखिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूले समाज परिवर्तन हुन नसकेको चित्रण गरेको बताउनुभयो । घटना मान्छेका सोचाईमा आउने विकृतपूर्ण सोचाईबाट यस्ता घटनाहरू हुने भएकाले मानव अधिकार अभियानमा लाग्ने सङ्घसंस्थाको एकतावद्ध अभियान र इन्सेकको वर्ष पुस्तकले यस्ता मानव अधिकार विरोधी घटना नियन्त्रणको लागि राज्यलाई थप जिम्मेवार र जवाफदेही बनाउने खुलालले बताउनुभयो ।

जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनीले हामी जिल्लाको सम्पूर्ण पालिकालाई बालमैत्रि घोषणाको अभियानमा रहिरहँदा यस्ता घटनाहरू सार्वजनिक हुनुले चुनौति थपिएको बताउनुभयो । उहाँले बालमैत्रि घोषणा भएका पालिकाहरूमा नै बालिका बलात्कार, हिंसा तथा बालबिवाहका घटनाहरू हुने गरेकाले यसले बालमैत्रि पालिकाको औचित्यमाथि पनि प्रश्न उठ्ने गरेको बताउनुभयो । यस्ता घटनाहरूले समाजको चित्रण हुने भएकाले सभ्य, समुन्नत समाज निर्माणको लागि सबै पक्षको भूमिका हुने उपप्रमुख पुडासैनीले बताउनुभयो । कार्यक्रममा माइती नेपालकी कार्यक्रम संयोजक माया लामाले पछिल्लो समय समाजमा लिभिङ टुगेदरको विकृत मौलाउँदै गएको बताउनुभयो ।

यस्तै अदालतबाट बालबालिका तथा महिलासम्बन्धी मुद्दाहरू छिटो निरुपण नहुँदा बालबालिकाहरू होस्टाइल हुने समस्या रहेको भन्दै यस्ता घटनाहरू फास्ट ट्रयाक माध्यमबाट समाधान हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले जिल्लामा अघिल्ला दुई वर्षदेखि निरन्तर मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि हुँदै गएको इन्सेकको अभिलेखले देखाएको बताउनु भयो । उहाँले सन् २०१९ मा ५० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना यस जिल्लामा अभिलेख भएकोमा सन् २०२० मा ६२ र सन् २०२१ मा आइपुग्दा ७८ ओटा घटना अभिलेख हुनुले जनचेतनाले गर्दा पीडित न्यायको पहुँचमा आउने गरेको मात्र नभई फितलो कानुन र कार्यन्वयनका कारण पनि अपराधिक गतिबढ्दै गएको देखिन्छ । साथै यि सबै घटनामा महिला तथा बालबालिका ९० प्रतिशत भन्दा बढीको सङ्ख्यामा पीडित भएको तथ्याङ्कले देखाएको हुँदा पालिका स्तरमै सचेतनाको खाँचो रहेको उहाँको धारण थियो ।

यस्तै मकवानपुर जिल्ला बार एसोसिएसन अन्तर्गतको मानव अधिकार तथा जनसरोकार समितिका संयोजक अधिवक्ता इश्वरीप्रसाद अधिकारीले वार्षिक रुपमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू बढ्नुमा समाज सचेत बन्दै गएको तर्फ सोच्नुपर्ने धारणा राख्नुभयो । उहाँले घटनाको संख्या वृद्धिलाई नकरात्मक रुपमा नभई समाज सचेत बन्दै गएको छ र वर्षौंदेखि सञ्चालित अभियानहरूले सार्थकता पाउँदै गएको भन्ने तर्फ सबैले सोच्नुपर्ने बताउनुभयो । सिविन बाल हेल्पलाईन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जिल्लामा बालबिवाह र बालिका बलात्कार निक्कै बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले जिल्लामा पालिकास्तरमा बालमैत्रि अभियान सञ्चालन भइरहँदा ग्रामीण क्षेत्रमा केकस्ता मानवता विरोधि क्रियाकलाप भइरहेकाछन्, हिंसा लगाएतका घटनाहरूका बारेमा सूचना प्राप्त हुने हुँदा त्यस्ता घटनाहरूलाई नियन्त्रण गर्न र कानुनी दायरामा ल्याउन सहज भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर चुडाकुमारी खड्काले लिभिङ टुगेदरसँग सम्बन्धित विषयहरू आउँछन् तर प्रमाणको अभावमा उनीहरूलाई न्याय दिलाउन समस्या भएको बताउँदै यसले घरेलु हिंसामा वृद्धि भएको बताउनुभयो । पत्रकार प्रताप विष्टले बालबिवाह नियन्त्रणमा सरकार कमजोर देखिएको बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारले २०७८ सम्म प्रदेशलाई बालबिवाह मुक्त प्रदेश घोषणा गर्ने नीति लिए पनि सरकार परिवर्तनपछि त्यसले निरन्तरता नपाउने समस्या रहेको बताउनुभयो । यस्तै राज्यले कानुन निर्माणको क्रममा बहुबिवाहलाई नियन्त्रण गर्ने भनी बनाएको कानुनले समाजमा लिभिङ टुगेदरलाई मान्यता दिनेतर्फ अग्रसर बनेको पत्रकार विष्टलले औंल्याउनुभयो ।

कार्यक्रममा जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले सन् २०२१ मा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा तथ्याङ्क सहितको प्रतिव्ेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला प्रतिनिधी अधिकारीका अनुसार यस वर्ष मकवानपुर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७८ ओटा अभिलेख भएको भएको छ । जसमध्ये ७३ जना महिला र ५ जना पुरुष पीडित भए । बाल अधिकारका घटनामा ३४ जना बालिका पीडित भएकोमा २८ जना बलात्कार, पाँच जना यौन दुव्र्यवहार र एक जना बेचबिखनको प्रयासबाट पीडित भएका छन् । यसैगरी महिला अधिकारका घटनामा ३३ जना पीडित भएकोमा २१ जना बलात्कार, पाँच जना बलात्कार प्रयास, एक जना यौन दुव्र्यवहार र ६ जना बहुविवाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।

यस अवधिमा १० ओटा हत्याका घटना भएक ाछन् । जसमा ६ जना महिला र ४ पुरुष छन् । भने एक कुटपिटको घटना इन्सेकमा अभिलेख भएको छ । यस वर्ष परिवारजनबाट सात जना बालिका सहित १३ ओटा बलात्कारको घटना र पाँच जना हत्याको घटना इन्सेकमा अभिलेख भयो भने तीन ओटा घटना बौद्धिक अपाङ्गता भएका व्यक्ति पीडित भएका छन् । इन्सेकको अभिलेखालयमा गतवर्ष सन् २०२० मा मकवानपुरमा ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६३ जना पीडित भएका थिए । जसमा ५० जना महिला, १२ जना पुरुष  र एक लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको तथ्याङ्क छ । गतवर्षको तथ्याङ्कसँग यस वर्षको घटना तुलना गर्दा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको देखिन्छ ।

पुष्पराज अधिकारी