नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को वार्षिक सम्पादन भेला सम्पन्न

कैलाली । २०७८ पुस २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्धारा पुस २१ गते २२ गते आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को वार्षिक सम्पादन भेला धनगढीमा सम्पन्न भएको छ । सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसिम्बरसम्म सुदूरपश्चिम प्रदेशमा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको सम्पादन गर्न पुस २१ गतेदेखि वार्षिक सम्पादन भेलाको आयोजना गरिएको थियो । अनौपचाारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले इन्सेकद्वारा प्रकाशित गरिदै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित पुस्तक भएकोले वर्ष पुस्तकमा प्रकाशन गरिने मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको अर्धवाषिक तथा वार्षिक रुपमा सम्पादन गरिदै आइएको बताउनु भयो । उहाँले वर्ष पुस्तकमा समावेश गरिने घटनाहरु जिल्ला प्रतिनिधिहरुले नै सङ्कलन गर्ने भएकोले जिल्ला प्रतिनिधिहरुले सूचनाको विश्वासनियतामा ध्यान दिनु पर्ने, इमान्दारीपूर्वक समयमै सूचनाहरु सङ्कलन गर्न र सूचनाहरुको पुनपुष्र्टि गर्न आग्रह गर्नु भयो ।

 

इन्सेक अनलाइनका सम्पादक रमेश तिमिल्सिनाले अभिलेखिकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका  घटनाहरुको अन्तिम सम्पादन तथा पुनर्पुष्टि गर्नका लागि वार्षिक सम्पादन भेलाको आयोजना गरिएको र सन् २०२१ जनवरीदेखि डिसिम्बरसम्म सुदूरपश्चिम प्रदेशमा सङ्कलन गरिएका सम्पूर्ण घटनाहरुको सम्पादन कार्य सम्पन्न भएको बताउनु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तक सम्पादक गोविन्द त्रिपाठीले सम्पादन गरिएका घटनामा आवश्यक थप सूचनाहरु समयमै जिल्ला प्रतिनिधिहरुले अद्यावधिक गरेर पठाउनु पर्ने बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेशका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा समावेश गरिने घटनाहरुको सम्पादन कार्य सम्पन्न भएको भएपनि सम्पादित केही घटना विवरणहरुमा थप सूचना अद्यावधिक गर्नु पर्ने भएकोले इन्सेक जिल्ला प्रतिनिधिहरु आ–आफ्नो जिल्ला पुगिसकेपछि अद्यावधिक गरेर पठाउन अनुरोध गर्नु भयो । वार्षिक सम्पादन भेलामा सुदूरपश्चिम प्रदेशमा कार्यरत इन्सेक जिल्ला प्रतिनिधि , केन्द्रीय कार्यालय र प्रदेश कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

मैनामोती चौधरी