नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ केन्द्रमा विमोचन, प्रदेशमा सार्वजनिक

काठमाडौँ । २०७८ फागुन ९ गते

इन्सेकले केन्द्रमा र सातै प्रदेशमा फागुन ७ गते एकसाथ कार्यक्रमको आयोजना गरी नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ केन्द्रमा विमोचन र प्रदेशमा सार्वजनिक गरेको छ ।  इन्सेक केन्द्रीय कार्यालयले ललितपुरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वर्ष पुस्तकको विमोचन गर्नु भएको हो । इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित भए । सन् २०२० मा यस्ता घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएका थिए । यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा ५२ महिला र ५ सय १० पुरुष गरी जम्मा ५ सय ६२ जना तथा ज्यादतीका घटनामा ५ हजार १ सय ६३ जना महिला र ५ सय ६० जना पुरुष गरी जम्मा ५ हजार ७ सय २३ जना पीडित भएको अभिलेख भयो । गत वर्षको तुलनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा यस वर्ष ७ सय ४२ जना बढी पीडित भए । यस वर्ष राज्य पक्षबाट ६ जनाको हत्या भएको र यातनाका घटनामा तीन जना, गिरफ्तारीका घटनामा ३५ जना, जातीय विभदका घटनामा २८ जना अमानवीय व्यवहारका घटनामा २४ जना पीडित भए । भेला तथा सङ्गठित हुने अधिकारमा ३ सय ६३ जना र धम्कीका घटनामा ३६ जना र कुटपिटका घटनामा २ सय ६६ जना पीडित भएको अभिलेख भयो ।

इन्सेक प्रदेश १, कार्यालयले फागुन ७ गते विराटनगरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण कार्यक्रममा सन् २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्सेक अभिलेखका आधारमा सन् २०२१ मा प्रदेश १ मा अपहरणका घटनामा चार, गिरफ्तारी तीन, कुटपिट ४५, बाल अधिकार ३ सय ५, हिरासतमा मृत्यु दुई, घाइते १२, हत्या ६७, जातीय विभेद एक, धम्की चार, यातना एक, महिला ४ सय ६८ र कारागारमा मृत्यु सात गरी ९ सय १९ जना मानव अधिकारका घटनामा पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । सन् २०२१ मा प्रदेश १ मा राज्यपक्षबाट ३० जना र अन्य पक्षबाट ८ सय ८९ जना गरी ९ सय १९ जना पीडित भएको विवरण नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा समेटिएको छ ।

इन्सेक मधेस प्रदेश कार्यालयले फागुन ७ गते जनकपुरधाममा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजानिकीकरण कार्यक्रममा मधेस प्रदेशमा ७ सय ५८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको जानकारी दिइयो।

इन्सेक बागमती प्रदेश कार्यालयले फागुन ७ गते हेटौँडामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजानिकीकरण कार्यक्रममा सन् २०२१ मा बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार १ सय ८३ जना पीडित भएका जनाइयो । यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा ३४ जना महिला र २ सय ४९ पुरुष गरी जम्मा २ सय ८३ जना तथा ज्यादतीका घटनामा ८ सय ४२ जना महिला, ४८ जना पुरुषसहित जम्मा ८ सय ९० जना गरी जम्मा १ हजार १ सय ७३ जना पीडित भएको अभिलेख भयो । यो सङ्ख्या गत वर्षभन्दा ८१ जनाले बढी हो । यस वर्ष राज्यपक्षबाट हिरासतमा रहेका एक जना पुरुष र कारागारमा रहेका ५७ जना कैदीबन्दीको मृत्यु भयो जसमध्ये पाँच जना कैदीबन्दीको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको हो । गिरफ्तारीका घटनामा १० जना, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा ३४ जना महिला र १ सय ८१ जना पुरुष गरी २ सय १५ जना पीडित भए ।

इन्सेक गण्डकी प्रदेश कार्यालयले जनकपुरधाममा फागुन ७ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण कार्यक्रममा सन् २०२१ मा गण्डकी प्रदेशका ११ जिल्लामा ५ सय १३ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएका जानकारी दिइयो । गण्डकी प्रदेशमा राज्यपक्षबाट ४९ जना र अन्य पक्षबाट ४ सय ६४ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएका इन्सेकले अभिलेख गरेको छ ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयले नेपालगञ्जमा फागुन ७ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण  कार्यक्रममा लुम्बिनी प्रदेशमा सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ७ सय ८६ जना पीडित भएका बताइयो । यो प्रदेशमा राज्य पक्षबाट पाँच जनाको हत्या गरिएको इन्सेकले अभिलेख गरेको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयले सुर्खेतमा फागुन ७ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण  कार्यक्रममा सन् २०२१ मा कर्णाली प्रदेशमा मानव अधिकार र ज्यादतीका ३ सय ९६ घटनामा ४ सय ३० जना पीडित भएका जानकारी दिइएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले धनगढीमा फागुन ७ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण कार्यकममा सन् २०२१ मा सुदूरपश्चिम प्रदेशमा राज्य पक्षबाट दुई महिला सहित २१ जना र अन्यपक्षबाट  ६ सय २७ महिला सहित ६ सय ८५ जना गरी ७ सय ६ जना पीडित भएका उल्लेख गरिएको छ । इन्सेकले सातै प्रदेशबाट एकएक जना प्रतिनिधिलाई उत्कृष्ट प्रतिनिधि घोषणा गरी पुरस्कारसमेत प्रदान गरेको छ । प्रदेश १ बाट झापाका नरेश खाती, मधेस प्रदेशबाट रौतहटकी कोपीला तिमल्सिना, बागमती प्रदेशबाट सिन्धुपाल्चोकका नातीबाबु धिताल, गण्डकी प्रदेशबाट तनहुँका प्रकाशचन्द्र भट्टराई, लुम्बिनी प्रदेशबाट कपिलवस्तुकी पार्वती आचार्य, कर्णाली प्रदेशबाट दैलेखका अमर सुनार र सुदूरपश्चिमबाट अछामका शिवराज ढुङ्गाना पुरस्कृत हुनु भएको हो । प्रदेश १ मा उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले, मधेस प्रदेशमा उच्च अदालत जनकपुरधामका न्यायाधीश हरिप्रसाद बगालेले, बागमती प्रदेशमा उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश मेरिना श्रेष्ठले र गण्डकी प्रदेशमा उच्च अदालत पोखराका का.मु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिक गर्नु भएको हो । त्यसैगरी लुम्बिनी प्रदेशमा उच्च अदालत तुलसिपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश  डा. रत्नबहादुर बागचन्दले, कर्णाली प्रदेशमा उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश शेषराज शिवाकोटीले र सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिक गर्नु भएको हो । इन्सेकले सन् १९९२ देखि हरेक वर्ष नेपालको मानव अधिकार अवस्था समेटेर वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ पढ्न यहाँ क्लिक गर्नु होला  

नेपाली: https://insecresources.org.np/?r=94349&k=ed0e7390c5

अङ्ग्रेजी: https://insecresources.org.np/?r=94350&k=4f70ec34bc