नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकार अवस्थाको प्रतिबिम्ब होः सरोकारवाला

बैतडी । २०७८ चैत १७ गते

जिल्लास्थित सरोकारवालाहरुले इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक देशको मानव अधिकार अवस्थाको प्रतिबिम्ब भएको बताउनु भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले चैत १६ गते जिल्लास्थित प्रमुख सरोकारवालाहरुलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ हस्तान्त्रण गरिसकेपछि छलफलका क्रममा उहाँहरुले यस्तो प्रतिक्रिया दिनु भएको हो ।

वर्ष पुस्तक बुझ्दै जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी रमेसबहादुर पालले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तकले मानव अधिकार उल्लङ्घनका घटनाको चित्रण गर्ने गरेको बताउनु भयो । उहाँले भन्नु भयो– ‘इन्सेकले सार्वजनिक गर्ने मानव अधिकार उल्लङ्घनका घटनाबाट समग्र मानव अधिकारको अवस्था विश्लेषण गर्न सकिन्छ । तर, यसलाई अझै फराकिलो बनाउन जरुरी छ ।’

सहयक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले मानव अधिकारको अवस्थाको एक प्रतिबिम्बका रुपमा स्थापित वर्ष पुस्तकले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा कमि ल्याउनुका साथै सम्बन्धीत पक्षलाई जिम्मेवार बनाएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘राज्य पक्षलाई जिम्मेवार बनाउनुका साथै समग्र देशको मानव अधिकार अवस्थाका बारेमा पुस्तकले प्रस्तुति गरेको छ । वर्ष पुस्तकमा आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारका सवालले अझै स्थान पाउनु पर्छ ।’ इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले जिल्ला प्रशासन, जिल्ला प्रहरी, शिक्षा, स्वास्थ्यलगायतका कार्यालयहरुमा मानव अधिकार वर्ष पुस्तक २०२२ हस्तान्त्रण गर्नु भएको थियो ।

नरी बडु