नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
कास्की । २०७९ असार ८ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ८ गते सम्पन्न गरिएको छ । सन् २०२२ को जनवरीदेखि जुन २० सम्मको अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको समीक्षा गरिएको हो । समीक्षामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सङ्कलन गरेका ५३ ओटा घटना अभिलेख गरेको छ । बाल अधिकार अन्तर्गत बलात्कार, बलत्कार प्रयास, यौन दुर्व्यवहारका ६ ओटा, महिला अधिकार अन्तर्गत बलात्कार र यौन दुर्व्यवहारका दुई ओटा, घरेलु हिंसाका ३५, गिरफ्तारीका चार, सम्पत्ति क्षतिका दुई र हत्याका चार ओटा घटना सङ्कलन गरिएको प्रतिवेदनमा समेटिएको छ । कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले ग्रामीण क्षेत्रमा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको बताउँदै ग्रामीण क्षेत्रमा सचेतना फैलाउनुपर्ने बताउनु भयो । उहाँले राज्य र नागरिक दुवै पक्षले मानव अधिकारको पालना गर्नुपर्नेमा जोड दिुन भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत मोहन काफ्लेले आयोगमा समेत महिला हिंसासम्बन्धी घटनामा बढी उजुरी पर्ने गरेको बताउनु भयो । इन्सेक गण्डकी संयोजक शिव खकुरेलले संयुक्त राष्ट्रसङ्घले पारित गरेको सात ओटा ठूला महासन्धिमा केन्द्रित रहेर आफूहरूले मानव अधिकारको बारेमा अनुगमन गर्दै आइरहेको बताउनु भयो । उहाँले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूले अधिकारका विषयमा विभिन्न फोरमहरूमा आवाज उठाउँदै आएपनि न्यायिक प्रक्रियामा जान नसकिरहेको भन्दै पीडा पोख्ने मात्रै नभइ न्यायिक प्रक्रियामा समेत अगाडि बढ्नुपर्ने भनाई राख्नु भयो । गैरसरकारी संस्था महासङ्घ गण्डकी कार्यवहाक अध्यक्ष पदमराज पहारीले नागरिकहरू संविधानले प्रदान गरेका अधिकारबाट वञ्चित भएको बताउनु भयो । महिला मानव अधिकार रक्षक सञ्जाल अध्यक्ष इन्द्रकुमारी शर्माले बालिका पीडित हुने घटनामा वृद्धि भइरहेको भन्दै चिन्ता व्यक्त गर्नु भयो ।
सुशन घिमिरे
HUMAN RIGHTS NEWS PORTAL






