नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
ललितपुर । २०७९ असार १७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको छ । समीक्षामा जिल्ला प्रतिनिधिले ललितपुरमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनको प्रतिवेदन प्रस्तुत गरेका थिए । सन् २०२२ को जनवरी १ देखि जुन १५ सम्मको अवधिमा जिल्लामा ३७ ओटा मानवाधिकार उल्लङ्न र ज्यादतीका घटना अभिलेख भएका छन् । जसमा महिला बलात्कारमा चार जना र बालिका बलात्कारका घटनामा १४ जना पीडित भएका छन् । आरोपितमा १५ वर्षदेखि ५९ वर्षका १९ जना छन् । घटनामा संलग्न आरोपितहरू बुवा, दाजु, शिक्षक समेत रहेका छन् । बालयौन दुरुपयोगका चार ओटा घटना भए भने एकजना चिकित्सकमाथि ट्राफिक प्रहरीबाट दुर्व्यवहार भएको घटनाको अभिलेख गरिएको छ । बहुविवाहका ६ ओटा घटनाको अभिलेखसँगै एमसिसिको बिरोधमा मसाल जुलुस गर्ने क्रममा नेकपा (क्रन्तिकारी माओवादी)का का कार्यकर्ता गिरफ्तार गरिएको एउटा घटनाको अभिलेख गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले जिल्लामा मानव अधिकार रक्षाका लागि इन्सेकले अभिलेख गरेको प्रति खुशी व्यक्त गर्दै इन्सेकले तयार पारेको अभिलेख र पुस्तक ललितपुरका प्रत्येक विद्यालयमा पु¥यउन सहकार्य गरिन बताउनुभयो । उहाँले भन्नुभयो, “यस जिल्लामा रहेका कुनै पनि सरकारी वा गैर सरकारी संस्थाले जसले मनोसामाजिक परामर्शको कार्यक्रम गर्न सक्छन त्यसतर्फ मध्यनजर गर्नेछाँै । अहिले बढ्दो यौनजन्य हिंसाका घटना न्यूनिकरणका लागि सबैको साझा प्रयासबाट विद्यालयमा शिक्षा दिने र सामाजिक सचेतना जगाउने काम गर्नुपर्ने खाँचो रहेको छ ।’’ समितिका उपप्रमुख रामलाल थिङ्ले मुलुकमा प्रचलित संस्कार र संस्कृतिको बेवास्ता बढिरहेको उल्लेख गर्दैै सो का कारण वैदेशिक रोजगारीमा गएका महिला पुरुषबीच फाटो आउनाका साथै मादक पदार्थ सेवन गरी हिंसा गर्ने क्रम देखिएको भनाइ राख्नुभयो । बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले समाजमा अपराध न्यूनिकरण गर्न प्रहरी लगायत सम्बन्धित निकाय मात्रै जागरुक नभएर व्यक्ति स्वयम् सचेत हुनुपर्ने धारणा राख्नुभयो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले महिलामाथि हुने हिंसा तथा बलात्कारका घटनाको न्यूनिकरणका लागि नागरीक समाजको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले फौजदारी अपराध संहिता २०७४ ले घटना दर्ता गर्न प्रहरीका तल्लो तहका कार्यालयले नमानेमा माथिल्लो निकाय, जिल्ला प्रशासन कार्यालय वा आयोगहरूमा जान पाउने व्यवस्था गरेको बताउनु भयो ।
महानगरीय प्रहरी परिसर जाउलाखेलका डिएसपी दिपक भारतीले किशोरकिशोरीमा सामाजिक सञ्जालको गलत प्रयोगका कारण ललितपुरमा अपराधका घटना बढिरहेको बताउनु भयो छ । मुलुकमा भित्रिएको कारोना महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण मोवाइलको प्रयोग गरी अध्ययन लगायत पठनपाठनको क्रियाकलाप अघि बढाउँदा त्यस किसिमका घटना बढेको सुनाउनुभयो । उहाँले ललितपुरका किशोरकिशोरी इन्टरनेटको पहुँचका कारण बलात्कार, यौन दुव्र्यवहार, हिंसा तथा हत्या लगायतका अपराधका घटनामा मुछिएका भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “हामीले ललितपुरमा मानव अधिकार रक्षाका लागि दुईदेखि चार पाङग्रे सवारीसाधन प्रयोग गरी ठूलो आवाज बनाएर आवतजावत गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने गरेका छौँ ।” जिल्ला न्यायाधीवक्ता सुशीला ज्ञवालीले ललितपुरमा बालिका बलात्कृत भएका घटनाले चिन्तित बनाएको उल्लेख गर्दै अपराध बढ्नुमा कानुनी शिक्षाको अभाव बताउनु भयो । उहाँले कुनै पनि घटनाको अनुसन्धान प्रहरीले गर्ने र सरकारी वकिलको कार्यालयले सहजीकरण गर्ने जानकारी दिनुभयो । अधिवक्ता ज्ञवालीले पछिल्लो समय नक्कली पीडित बनेर उजुरी दिइ व्यक्तिको चरित्रमाथि प्रश्न चिन्ह खडा गर्ने काम बढेका भन्दै कानुनी पक्ष र व्यक्तिगत स्वतन्त्रता बारे सचेतना जगाउनु पर्ने खाँचो औँल्याउनु भयो । गैर सरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य टीकाराम दाहालले समाजबाट अपराध घटाउन नैतिक शिक्षा अघि बढाउन जरुरी रहेको सुझाव दिनुभयो । महासङघ ललितपुरका अध्यक्ष नरेन्द्र डंगोलले ललितपुरको कर्णाली मानिने दक्षिण ललितपुरमा अपराधका घटना हुँदा पनि उजुरी हुन नसकेको उल्लेख गर्दै कारणले सो हुन पुगेको हो ध्यान दिन अनुरोध गर्नुभयो । महासङ्घका सचिव नन्दा ताम्राकारले समाजमा बढिरहेका अपराधका कारण सिर्जना भएको मानसिक स्वास्थ्यका समस्यामा सम्बन्धित निकायले कहिल्यै सम्बोधन गर्न नसकेको आरोप लगाउनु भयो । छोरीका लागि छोरी नै अभियानका अध्यक्ष बसुदा पाण्डेले महिला हिंसाका घटना न्यूनिकरणका लागि सहकार्यका लागि आग्रह गर्नुभयो ।
दीपकप्रसाद घिमिरे