नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

नवलपरासी (सुस्ता पश्चिम) । २०७९ असार २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार २१ गते परासीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले सन् २०२२ जनवरी देखि जुनसम्म ६ महिनाको अवधिमा जिल्लामा सङकलन गरिएका घटनाहरू प्रस्तुत गर्नु भयो । जसमा हत्या प्रयास एक, बालिका बलत्कार र बलत्कार प्रयास नौ वटा, अपहरण तथा शरिर बन्धक एक , महिला अधिकार अन्र्तगत बलत्कार र बलत्कार प्रयासका आठ वटा, बहु विवाह दुई जातिय विभेद एक र घरेलु हिंसाको ४८ वटा  गरी जम्मा ७० वटा घटना भएको तथ्यांक प्रस्तुत गर्नु भयो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सत्य तथ्य र अझ बढी यथार्थमा आधारित भई स्थानीय तहसँग समन्वय गरी घटना सङकलन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रहरी, प्रशासन, पत्रकार, नागरिक समाज, अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

नारायण पराजुली