नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा सम्पन्न

गुल्मी । २०७९ पुस ६ गते

इन्सेक गुल्मीको आयोजनामा पुस ४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्यालले सन् २०२२ को जनवरीदेखि अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत घटनामा सात जना बालिका र आठ जना महिला बलात्कार, बलात्कार प्रयास रहेका छन् । यस अवधिमा  एक महिलाको हत्या भएको घटना अभिलेख गरिएको छ । यसैगरी, कुटपिट तथा ३०, वटा ७५ घरेलु हिंसाका घटना अभिलेख गरिएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

नागरिक समाजका संयोजक पदम पाण्डेयले राजनीतिक अस्थिरताका कारण मानव अधिकारको अवस्था  कमजोर बन्दै गएको बताउनु भयो । उहाँले तीन तहकै सरकारको प्राथमिकतामा मानव अधिकार नपर्नु, सरकारले संविधानमा व्यवस्था गरेका अधिकारको कार्यान्वयमा उदासिनता देखाउनु, अध्यादेश जारी गरेर अपराधमा सङ्लग्नलाई छुटाएर सत्ता टिकाउने खेल बढेकाले मानव अधिकार अझै कमजोर बन्दै गएकोमा धारणा राख्नु भयो । गुल्मी अस्पतालमा डाक्टर उत्तम पच्याले अस्पतालमा दरबन्दी अनुसारका जनशक्ति नहुँदा निकै समस्या भएपनि नागरिकका गुनासाहरू समाधान गर्न प्रयत्नहरु गरिरहेको बताउँदै कारागारका कैदी बन्दीलाई मनोसामाजिक परामर्श दिन आफुहरू तयार भएको बताउनु भयो । निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले इन्सेकको प्रतिवेदनमा जिल्लाको आर्थिक, समाजिक अवस्थाको चित्रण भएको बताउँदै संविधान अनुसार नागरिकका अधिकार कार्यान्वयनमा समस्या रहेको बताउनु भयो ।

टोपलाल अर्याल