नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

कैलाली । २०७९ पुस १४ गते

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिहका अनुसार नेपाल मानब अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको वार्षिक समीक्षा पुस १३ गते सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । मानव अधिकारसँग सरोकार राख्ने जिल्लास्थित सरकारी तथा गैरसरकारी सस्था, प्रहरी र पत्रकारहरुको उपस्थितिमा वार्षिक समीक्षा सम्पन्न गरिएको हो । इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले सन् २०२२ जनवरीदेखि डिसेम्वरसम्म सङ्कलन गरेका घटनाहरु समीक्षा कार्याक्रममा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले राज्य पक्षबाट हुने मानव अधिकार उल्लङ्घनका घटना बारे प्रशासनीक क्षेत्रका हिसाबमा न्यूनिकरणको लागि सक्दो पहल कदमी गर्ने र यस्ता खालका घटनाको राज्यले उचित क्षेतिपूर्ति दिएर पीडित परिवारलाई न्यायाको अनुभुति गराउनु पर्ने बताउनु भयो । उहाँले इन्सेकद्धारा प्रस्तुत गरीएका घटनाहरू नमूना घटना मात्र हुन सक्ने र ग्रामिण क्षेत्रमा भएका घटनाहरु सम्बन्धित ठाउँमा नआउने भएकोले इन्सेकले पनि ग्रामिण क्षेत्रका घटनाहरु सङ्कलन गर्न स्थानीय सरकारसँग सरहकार्य तथा समन्वय गर्न आवश्यक भएको बताउनु भयो ।

      

जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य थापाले समुदायमा विभिन्न प्रकारका घटनाहरूलाई सरकारी तथा गैरसरकारी माध्यमबाट उजागर गर्न जरूरी रहेको बताउँदै मानव अधिकारका सवाल उठानका बिषयमा इन्सेकले प्रहरी प्रशासनसँग गरेको सहकार्य र सहयोगले घटना न्यूनीकरण, अनुसन्धान र सुचना प्रबाहमा सहज भएको बताउनु भयो । नेपाल पत्रकार महासघका निवर्तमान अध्यक्ष प्रकाश सिंहले इन्सेकले मानव अधिकारका क्षेत्रमा गरेको कामप्रति प्रशंसा गर्नु भयो । मङ्सिर ४ गतेको प्रतिनिधि  र प्रदेश सभाको निर्वाचनमा  त्रिबेणी नगरपालिका–६ मा भएको घटना बारे बुझ्न सरकारका तर्फबाट पहिलो जिम्मेबार निकाय  मानव अधिकार आयोग हुनु पर्नेमा इन्सेकले त्यो घटनालाई चासोका साथ लिएर सबै भन्दा पहिला घटना स्थलको अध्यान गर्न गरेकोमा धन्यबाद ब्यक्त गर्नु भयो । महिला अधिकार मञ्चका अध्यक्ष रुखमीणी शाहले महिला हिंसाका घटनामा कमी आउनुको भन्दा बढ्नु चिन्ताको बिषय भएको बताउनु भयो । उहाँले घरेलु हिसां बढ्नुको मुख्य कारण मदिरा सेवन रहेकोले स्थानीय तहले मदिरा व्यवस्थापनमा ध्यान दिन जुरुरी रहेको बताउनु भयो । इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले जिल्लामा सन् २०२२ जनवरीदेखि  डिसेम्बरसम्म  अभिलेख गरिएका ६८ ओटा घटना समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जसमध्ये सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु एक जना, बलात्कार, बलात्कार प्रयासबाट १५ जना, जातीय छुवाछुतबाट दुई जना, घरेलु हिंसाबाट ४५ जना र बहुविवाहबाट चार जना पीडित  रहेका छन् ।

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १३ गते गोठालापानीमा सम्पन्न भएको छ । सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा अभिलेखीकरण गरिएका ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको समीक्षा गरिएको हो । जिल्लामा सङ्कलित ६२ ओटा घटनामध्ये घरेलु हिंसाका २२ ओटा, हत्याका ६,  बलात्कार र यौन दुव्र्यहारका १७, बहुविवाहका तीन, कुटपिटका दुई, झडप तथा कुटपिटका एक घटनाहको तथ्याङ्क समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको थियो । जिल्ला अदालत, बैतडीका न्यायाधीश जयानन्द पनेरुले इन्सेकले प्रकाशन गर्दै आएको वर्ष पुस्तकले मानव अधिकार उल्लङ्घन र ज्याजती गर्नु हुदैन भन्ने सन्देश दिने गरेको बताउनु भयो ।

  

उहाँले सरकारी कार्यालयको तथ्याङ्कमा उल्लेख भए बाहेकका घटना र आर्थिक, समाजिक तथा सास्कृतिक अधिकारका घटनाहरुलाई वर्ष पुस्तकमा समावेस गर्न सुझाव दिनु भयो । नेपाल बार एसोसिएसन, बैतडीका अध्यक्ष अधिवक्ता हरी भट्टले इन्सेकले अनौपचारिक रुपमा सरकारी डाटा भन्दा पनि ग्रामिण क्षेत्रको समस्यालाई उठाउनु पर्ने बताउनु भयो । द्वन्द्वकालमा इन्सेकको महत्वपूर्ण भुमिका स्मरण गराउँदै अधिकारकर्मी कर्ण दयालले इन्सेक पछिल्लो समय आफ्नो अध्ययन भन्दा पनि सरकारी तथ्याङ्कमा मात्रै केन्द्रित भएको बताउनु भयो । उहाँले द्वन्द्वकालको जस्तो सक्रिय र प्रभावकारी मानव अधिकारवादी संस्थाका रुपमा स्थापत सस्था झैअहिले पनि स्थापित हुन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा उपस्थित नागरिक समाजका प्रतिनिधि, अधिकारकर्मी, पत्रकार एवं अन्य सरोकारवालाहरुले इन्सेकले ग्रामिण क्षेत्रको समस्या र विषेश गरी मौलिक हकको कार्यान्वयनको अवस्थामा केन्द्रीत हुनु पर्ने  सुझाव दिनु भएको थियो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी