नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

ललितपुर । २०७९ पुस १४ गते

इन्सेक ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १३ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जसमा बलात्कारका ४६ ओटा, बलात्कार प्रयासका चार ओटा, मानव बेचबिखन तथा ओसार पसारका एक, बहु बिवाह १५ ओटा, आत्महत्या दुरुत्साहन एक, बाल यौन दुरुपयोगका सात ओटा, हत्याका नौ ओटा, हत्या प्रयासका १५ ओटा, घरेलु हिंसा मुद्दाका एक, बम बिस्फोट तीन, थुनाबाट भागेको एक गरी एक सय तीन ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गरेका थिए । जिल्ला प्रहरी परिसर जावलाखेलको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा ४ सय ९२ ओटा लैङ्गिक हिंसाका उजुरी परेकोमा ४ सय ९१ ओटामा कानुन अनुसार मिलापत्र भएको प्रहरी परिसरले जानकारी दिएको छ । नेपाली कांग्रेस ललितपुरका सचिव वशिष्ठ अधिकारीले राजनीतिलाई अपराधिकरण र अपराधलाई राजनीतिकरण हुन नदिएमा देशमा जन अधिकारको रक्षा हुनेमा जोड दिनुभयो । समाजलाई सकरात्मक रुपान्तरणका लागि सञ्चार जगतले सकरात्मक सन्देशलाई उच्च प्राथमिकता दिनु पर्ने खाँचो औँल्याउदै पेसा, व्यवसाय, राजनीतिक सिद्धान्तलाई एकातिर राखेर मानवीय मूल्य मान्यतालाई जहिल्यै उच्च सम्मान गर्नुपर्नेमा धारणा राख्नुभयो । नेकपा एमाले जिल्ला कमिटी उपसचिव तारा सञ्जेलले जिल्लामा विभिन्न किसिमका बेथितीहरू बढेकाले यस्ता बेथितीका विषयमा अनुगमन गर्न र राज्यलाई जवाफदेही बनाउन आग्रह गर्नुभयो । उहाँले प्राय यौनजन्य घटना परिवार र नजिकका व्यक्तिबाट हुने गरेको उल्लेख गर्दै समाजमा हुने गरेका अपराधजन्य घटना प्रहरीमा नपुग्ने र समाजमा लेनदेनका माध्यमबाट मिलापत्र हुने बिक्रितीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

   

 जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले इन्सेकको प्रतिवेदन र कार्यप्रति प्रशंसा गर्दै मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि आफूहरू सम्वेदनशील भएको बताउनु भयो । उहाँले यौनजन्य अपराधका घटनामा कतिपय अवस्थामा सहमतिमा करणी भइ सहमति टुटेपछि प्रहरीमा जबरजस्ती करणीको उजुरी दर्ता हुने गरेको र अदालत नपुग्दै नगदमा परिणत भइ होस्टाइल हुने गरेको बताउनु भयो । श्रेष्तेदार पाण्डेयले अपराधमा संलग्नलाई कारागारमा राख्नुमात्र समाधान नभएकोले अपराध न्युनीकरणका लागि सामाजिक सचेतनाको खाँचो औँलयाउनु भयो । जिल्ला सहन्यायाधीवक्ता गोविन्द आचार्यले ललितपुरमा बालिका बलात्कृत भएका घटनाले चिन्तित बनाएको उल्लेख गर्दै अपराध बढ्नुमा कानुनी शिक्षाको अभाव रहेको बताउनु भयो । उहाँले कुनै पनि घटनाको अनुसन्धान प्रहरीले गर्ने र सरकारी वकिलको कार्यालयले सहजीकरण गरी अदालतमा पेस गर्ने जानकारी दिनुभयो । पछिल्लो समय नक्कली पीडित बनेर उजुरी दिइ व्यक्तिको चरित्रमाथि प्रश्न चिन्ह खडा गर्ने काम बढेका लागि कानुनी पक्ष र व्यक्तिगत स्वतन्त्रता बारे सचेतना जगाउनु पर्ने खाँचो औँल्याउनु भयो । सरकारी वकिलको कार्यालयले हेल्लो साक्षी कार्यक्रमबाट पीडित र आरोपित पक्षका साक्षीलाई बोलाएर बयान र प्रमाणका आधार केलाई निश्पक्ष न्यायका लागि भूमिका निभाउँदै आएको स्मरण गर्दै अदालतको फैसला समेत दुवै पक्षलाई जानकारी दिने गरेको बताउनु भयो । जिल्ला प्रहरी परिसर जावलाखेलका इन्स्पेक्टर दीपकप्रसाद रिजालले किशोर किशोरीमा सामाजिक सञ्जालको गलत प्रयोगका कारण ललितपुरमा अपराधका घटना बढिरहेको बताउनु भयो । उहाँले ललितपुरका बालबालिका इन्टरनेटको पहुँचका कारण बलात्कार, यौन दुर्व्यवहार, हिंसा तथा हत्या लगायतका अपराधका घटनामा मुछिएको भनाइ राख्नुभयो ।

   

इन्स्पेक्टर रिजालले भन्नुभयो, ‘हामीले मानव अधिकार रक्षाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, जातीय छुवाछुतका सवालका कानुनी पक्षलाई व्यवहारिक बनाउन उच्च प्राथमिकता दिने गरेका छौँ ।’ गैर सरकारी संस्था महासङ्घ ललितपुरका सचिव नन्दा ताम्राकारले समाजमा बढिरहेका अपराधका कारण सिर्जना भएको मानसिक स्वास्थ्यका समस्यामा सम्बन्धित निकायले कहिल्यै सम्बोधन नगरेको गुनासो गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रमा सेवाको भावना भन्दा पनि व्यापारिकरण भएको बताउँदै मानिसको जीवनसँग जोडिएको विषयमा यस्तो हुनु दुखद् भएको बताउनु भयो । नेफस्कुन फिल्ड कार्यालय ललितपुरका प्रमुख दिनेश गौतमले सहकारीका नाममा खराब काम गर्नेले नागरिकको पैसा फिर्ता नदिएका कारण राम्रो काम गर्ने सहकारीलाई बचत फिर्ताको दबाब बढेका उदाहरण प्रस्तुत गर्दै सहकारी भित्र देखिएका बिक्रिति न्यूनिकरणका लागि समाजमा वित्तीय साक्षरता हुनु पर्ने खाँचो औँल्याउनु भयो । पत्रकार सन्तोस दाहालले समाजमूखि कानुन र व्यवहारीक पक्ष नमिलेको उल्लेख गर्दै कुन्ठाले नै हिंसा बढेको दाबी गर्नुभयो । उहाँले इन्सेकले अभिलेख गर्न छुटेका घटनाहरू समाजमा लुकेर बसेकाले सामाजिक सचेतना जगाउनु पर्नेमा जोड दिनुभयो । ज्येष्ठ नागरिक समाजका बाबुराजा महर्जनले ज्येष्ठ नागरिक ज्ञानका खानी अनि हाम्रो बुद्धिको स्रोत हुन भन्ने भावना घरघरमा गुञ्जायमान हुन आवश्यक भएको उल्लेख गर्दै ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्तिच बनाउनु प्रत्येक व्यक्तिको दायित्व भएको बताउनु भयो । छोरीका लागि छोरी नै अभियानका अध्यक्ष बसुदा पाण्डेले महिला हिंसाका घटना न्यूनिकरणका लागि सहकार्यका लागि आग्रह गर्नुभयो । अधिकारकर्मी कल्पना नेपालीले गरिबी र सचेतना अभाबमा जातीय तथा लैङ्गिक हिंसाका उजुरी घरभित्र दबिएकोले सामाजिक सचेतनाका लागि ध्यानाकर्षण गर्नुभयो ।

दीपकप्रसद घिमिरे