नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

कैलाली । २०७९ पुस १४ गते

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्लामा महिला हिंसा बढेको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाले पुस १४ गते सदरमुकाम खलंगामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा कार्यक्रममो सरोकारवालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अहिले पनि महिला हिंसाका घटनाहरु बढेकोप्रति चिन्ता व्यक्त गर्दै हिंसाका घटना न्यूनीकरण सरकारी निकायबाट मात्रै सम्भव नहुने भएकोले गैरसरकारी संघसंस्थाले पनि जनचेतनामूलक कार्यक्रम गर्न सुझाव दिनु भयो । स्थानीय सरकारले पनि महिला हिंसाका घटना न्यूनीकरणमामा बढी चासो दिनु पर्ने उहाँले बताउनु भयो । स्रोत साधनको हिसाबले पनि जनचेतना जगाउने कार्यक्रम स्थानीय सरकारले बढी गर्न सक्ने भन्दै उहाँले भन्नु भयो, सबै पक्षको हातेमालोबाटै मात्र हिंसामा कमी ल्याउन सकिन्छ । उहाँले इन्सेकले हरेक वर्ष मानवअधिकार वर्ष पुस्तकमार्फत समग्र मानवअधिकारको अवस्था अभिलेख राखेर राज्यलाई जिम्मेवार बनाउन भूमिका खेलकोप्रति प्रशंसा गर्नु भयो । अधिकारकर्मी हीरा अवस्थीले महिलामाथि हुने हिंसामा कमी ल्याउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

  

‘हामी विगतदेखिसँगै महिला मानव अधिकारको बारेमा वकालत गर्दै आएका छौँ’ उहाँले भन्नुभयो, ‘तर पनि हिंसाका घटनामा कमी आउन सकिरहेको छैन् ।’ जिल्ला प्रहरी कार्यालयका डिएसपी तर्कराज पाण्डेले इन्सेकले जिल्लाको हरेक घटनाहरु अभिलेख राखेर सरोकारवालालाई झकझकाउने काम गरेको बताउनु भयो । निर्विवाद रुपमा सबै घट्नाहरु प्रष्ट आएका छन् उहाँले भन्नु भयो । इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले सन् २०२२ जनवरीदेखि डिसेम्बरसम्म बालिका बलात्कारका चार, महिला बलात्कारका ६, जबरजस्तीकरणी उद्योगमा एक, घरेलु हिंसाका ५७, हत्याका दुई, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी तीन र आर्थिक सामाजिक सांस्कृतिक अधिकार अन्तर्गत एक घटना भएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।

इन्सेक डोटी प्रतिनिधि गणेश जोशीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डोटीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १४ गते सिलगडीमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक डोटी प्रतिनिधि गणेश जोशीले सन् २०२२ को जनवरीदेदि अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्याजतीका घटना र जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा प्रतिवेदन प्रस्तृत गर्नु भएको थियो । प्रस्तृत गरिएको प्रतिवेदनमा सन् २०२२ मा घरेलु हिसांका २५ ओटा , बलात्कार प्रयासका १० ओटा र बहुविवाहका तीन ओटा घटनामा ३९ जना पीडित भएको उल्लेख छ । जिल्ला स्तरीय मानव अधिकार सञ्जालका संयोजक नवराज जोशीले इन्सेकले प्रकाशन गर्दै आएको वर्ष पुस्तक अन्तराष्ट्रिय जगतमा समेत छाँया प्रतिवेदनको रुपमा रहेको बताउँदै सरकारले तयार गर्ने नीति तथा कार्यक्रममा समेत यसले सहयोग गर्दै आएको बताउनु भयो । बिम्व साप्ताहिकका सम्पादक तथा मानव अधिकारकर्मी रामहरी ओझाले इन्सेकले प्रकाशन गर्दै आएको वर्ष पुस्तक अधिकारकर्मीहरुका लागि राम्रो दस्तावेज बनेको बताउनु भयो । उहाँले मानव अधिकारका क्षेत्रमा भएका प्रयासहरुका विवरण संकलन गरेर देशमा अधिकारका आवाजहरुलाई उठाने गरेको बताउनु भयो ।

जवरजस्तीकरणीका मुद्दामा बढी राजनीतिकरण हुने भएकाले यसतर्फ मानव अधिकारकर्मीहरु सजक हुनु पर्ने जिल्ला कारागारका प्रमुख लालबहादुर बोगटीले बताउनु भयो । उहाँले कारागारका कैदीबन्दीहरुको स्वास्थ्यमा पहुँच न्यून रहेकोले यसतर्फ राज्यले नीति बनाएर कैदीबन्दीहरुका आधारभूत अधिकारको संरक्षण गर्नु पर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी रमेशप्रसाद धमलाले जिल्लामा पछिल्लो समय घरेलु हिसांका घटनामा कमी आएका बताउनु भयो । उहाँले विभिन्न जिल्लामा आफ्नो कार्य अनुभवको उदाहरण दिँदै देशभर इन्सेक बर्दी बिनाको प्रहरीको भुमिकामा रहेको बताउनु भयो । इन्सेकले प्रकाशन गर्दै आएको वर्ष पुस्तकले राज्यलाई थप जिम्मेवार गराएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा दिनेश उप्रतिले बताउनु भयो ।

इन्सेक डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार नेपाल मानब अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा संकलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको वार्षिक समीक्षा पुस १४ गते सदरमुकाम डडेल्धुरामा सम्पन्न भएको छ । मानव अधिकारसँग सरोकार राख्ने जिल्लास्थित सरकारी तथा गैरसरकारी सस्था, प्रहरी र पत्रकारहरुको उपस्थितिमा वार्षिक समीक्षा सम्पन्न गरिएको हो । इन्सेक जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टले सन् २०२२ जनवरीदेखि डिसेम्वरसम्म संकलन गरेका घटनाहरु समीक्षा कार्याक्रममा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले इन्सेकद्धारा प्रस्तुत गरीएका घटनाहरू सदरमुकाम केन्द्रीत भएको र अबका दिनमा ग्रामिण क्षेत्रमा हुने गरेका घटनाहरुलाई पनी संकलन गरी प्रस्तुत गरेमा वर्ष पुस्तकको विश्वसनीयता अझै बढ्ने बताउनु भयो ।

राज्य पक्षबाट हुने मानव अधिकार उल्लङ्घनका घटना बारे प्रशासनीक क्षेत्रका हिसाबले न्युनिकरणका लागि प्रशासनले पहल गर्ने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो । नेपाल पत्रकार महासघका अध्यक्ष हिक्मतबहादुर सिंहले इन्सेकले प्रकाशन गदै आइरहेको वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएको भन्दै संकलन गरेका घटनाहरुका पीडितहरुको न्यायका लागि सम्बन्धीत निकयहरुको ध्यानाकर्षण गर्नु पर्नेमा जोड दिनु भयो । इन्सेक जिल्ला प्रतिनिधि भूपेन्द्र विष्टले जिल्लामा सन् २०२२ जनवरीदेखि  डिसेम्बरसम्म अभिलेख गरिएका ५१ ओटा घटना समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम  प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको वार्षिक समीक्षा कार्यक्रम पुस १४ गते धनगढीमा सम्पन्न भएको छ । सन् २०२२ जनवरीदेखि डिसेम्बर महिनासम्मको अवधीमा कैलाली जिल्लामा संकलन गरिएका ३ सय ११ घटनामा २ सय ९२ महिला र २२ जना पुरुष गरी ३ सय १४ जना पीडित भएकोे कार्यक्रममा तथ्याङ्क प्रस्तुत गरिएको थियो । जिल्लामा संकलित घटनामध्ये महिला अधिकार अन्तर्गत घरेलु हिंसाबाट २ सय २४, बलात्कारबाट १८, बलात्कार  प्रयासबाट एक र बहुविवाहबाट दुई जना, बाल अधिकार अन्तर्गत बलात्कारबाट २९, बेचविखनबाट तीन, यौन दुव्र्यवहारबाट चार, बलात्कार प्रयासबाट चार जना, कथीत बोक्सीको आरोपमा १ जना पीडित भएका छन् । परिवारजनबाट तीन जना महिलाको हत्या र तीन जना महिला घाइते भएको प्रस्तुत तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी अन्य पक्षबाट चार जना र परिवारबाट एक जना पुरुषको हत्या, १२ जना कुटपिटबाट घाइते र तीन जनामाथि दुव्र्यवहार गरिएको इन्सेकमा अभिलेख गरिएको छ । एक जनाले पत्निको हत्यापछि आत्म हत्या गरेका छन् भने दुई जनाको कारागारमा मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले नेपाल मानव अधिकार वर्ष पुस्तकलाई प्रभावकारी र विश्वासिलो बनाउन सरोकारवालाहरुको सल्लाह सुझाव आवश्यक रहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय, कैलाली महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी इन्स्पेक्टर सरस्वती अधिकारीले इन्सेकले संकलन गरिएका घटनाहरुको सत्यतथ्य अद्यावधिक गरी वर्ष पुस्तकमा समावेश गरिनु पर्ने बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि बिदेशराम चौधरीले घरेलु हिंसाका घटनाका पीडितहरुले न्याय पाएको तथ्याङ्क राख्नु पर्ने सुझाव दिनु भयो । ओरेक नेपालकी जिल्ला संयोजक बिनु रानाले इन्सेकले पकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकमा पीडितहरुका न्यायका लागि वकालत गर्ने माध्यम भएकाले इन्सेकले संकलन गरिएका घटनामा स्रोत खुलाएर राख्नु पर्ने सुझाव दिनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी