नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
कैलाली । २०७९ पुस १९ गते
इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को प्रकाशनका लागि जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १८ गते सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बझाङको आयोजनामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा संकलन गरिएका २ सय ५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको समीक्षा गरिएको हो । जिल्लामा संकलित २ सय ५ ओटा घटनामध्ये सबैभन्दा बढी घरेलु हिंसाका १ सय ८२ ओटा घटना रहेका छन । बाँकी २३ ओटा बलात्कार, कुटपिट, बहुविवाह लगायतका घटना संकलन गरी ती घटनाहरुको समीक्षा गरिएको इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहले बताउनु भयो ।
इन्सेकले मानव अधिकार उल्लङ्घनका घटना अभिलेख गरेर सरकार तथा स्थानीय सरोकारवालाहरुलाई खबरदारी गराउने कार्य सराहनीय रहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भयो । ग्रामीण क्षेत्रमा मानव अधिकार उल्लङ्घनका घटना बढी हुने हुनाले स्थलगत अध्ययन गर्ने गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न फियान नेपालकी जिल्ला संयोजक सिता सिंहले सुझाव दिनु भयो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार, प्रहरी र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले इन्सेकको प्रतिवेदन र कामप्रति प्रशंशा गर्दै मानव अधिकार उल्लङ्घनका घटनाहरुको अभिलेखीकरणले पीडकलाई कानुनको दायरामा ल्याउन र पीडितलाई न्याय दिन सहयोग पुगेको बताउनु भएको थियो ।
इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अछामले आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १७ गते मंगलसेनमा सम्पन्न भएको छ । सन् २०२२ मा जिल्लामा संकलन गरिएका घटनाहरुको जिल्लास्थित सरोकारवालाहरुसँग समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । सन् २०२२ जनवरीदेखि डिसिम्बरसम्म वैवाहिक बलात्कार, बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार हत्या, दुव्र्यवहार, बहुविवाह लगायतका ५६ ओटा मानव अधिकार हनन एवं ज्यादतीका घटनाहरू अभिलेख गरिएको र यस वर्ष वैवाहिक बलात्कारका घटनामा बृद्धि भएको इन्सेकले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस अवधिमा जिल्लामा ५ ओटा वैवाहिक बलात्कारका घटना भएका छन् । हत्या, आत्महत्या दुरुत्साहन, बहुविवाह र यौन दुव्र्यवहारका दुई ÷ दुई ओटा, बलात्कारका ६, बलात्कार प्रयास एक, कुटपिटका आठ, जातीय विभेद एक, घरेलु हिंसाका २१ ओटा गरी ५६ ओटा घटना अभिलेख गरिएको इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुंगानाले बताउनु भयो । मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले गरिबी, बेरोजगारी, मदिरा सेवनका र व्यक्तिगत तनावका कारण घटनाहरु बढ्दै गएको बताउनु भयो । उहाँले गरिबी र बेरोजगारीको अन्त्य, मानसिक समस्याको उपचार, मदिराको व्यस्थापन र कानुनको पूर्ण पालना भएसम्म घटनाहरु न्यूनिकरण हुन नसक्ने बताउनु भयो । कमलबजार नगरपालिकाका उपप्रमुख शारदा विष्ट र साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवरले मानव अधिकार उल्लङ्घनका घटना संकलनसँगै ती घटना हुन नदिनका लागि जनचेतनामूलक कार्यक्रम समेत इन्सेक लगायतका संघसस्थाहरुले सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेले जिल्लामा आत्महत्याका घटनामा वृद्धि भइरहेकोले यसको न्यूनिकरणमा स्थानीय सरकारले ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले राज्यले प्रशासन र प्रहरीलाई दिएको जिम्मेवारी इमान्दारीताका साथ पूर्ण रुपमा पालना तथा कार्यान्वयन गरिदै आएको र आगामी दिनमा पनि अझै जिल्ला प्रशासनले प्रदान गर्ने सेवा सुविधाहरुलई सबैमैत्री बनाउँदै जाने प्रतिवद्धता जाहेर गर्नु भयो । जिल्ला समन्वय समिति, अछामका प्रमुख ललितबहादुर कुँवरले इन्सेकले प्रकाशन गर्ने आएको नेपाल मानव अधिकार वर्ष पुस्तकले समग्र देशको मानव अधिकारको अवस्थालाई उजागर गर्दै आएको र मानव अधकिारको संरक्षण र परिपुर्तिका लागि सबै पक्ष जिम्मेवार हुनु पर्ने बताउनु भयो । उहाँले नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउने कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक भएको र मानव अधिकारको पूर्ण प्रत्याभूतिका लागि हरेक व्यक्तिमा अधिकार र कर्तव्यको पाठ सिकाउनु पर्ने बताउनु भयो । साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बीसी, रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद, तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष बिमला शाहीलगायत पत्रकार तथा संघसस्थाका प्रतिनिधिहरुले मानव अधिकारको प्रत्याभूति दिलाउन र अपराध नियन्त्रण गर्न राज्य जिम्मेवार बन्नु पर्ने बताउनु भयो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी