नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाश पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

कञ्चनपुर । २०८० असार ११ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) कञ्चनपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा ०८० असार १० गते महेन्द्रनगरमा सम्पन्न भएको छ । सन् २०२३ जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका १ सय ३७ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको पृष्ठपोषण, सुझाव संकलन तथा पुनर्पुष्टि गर्ने उद्धेश्यले समीक्षा कार्यक्रमको आयोजना गरिएको हो । इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि लिली कुँवरले सन् २०२३ जनवरीदेखि जुृनसम्म संकलन गरिएका १ सय ३७ ओटा घटना मध्ये एक ओटा कर्तब्य ज्यान, आठ ओटा बलात्कार, चार ओटा बलात्कार प्रयास, एक ओटा यौन दुर्व्यावहार, कुटपिटका दुइ ओेटा र घरेलु  हिंसाका १ सय ३० ओटा घटनाहरु पूर्व समीक्षा कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो । जिल्ला अदालत, कञ्चनपुरका अधिवक्ता कौशिल्या ओझाले मानव अधिकारका घटनाहरु दिनप्रतिदिन बढिरहेकोेमा चिन्ता ब्यक्त गर्दै विद्यालयको पाठयक्रममा यौन शिक्षालाई समावेश गरिनु पर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका सई हरिकला रामजालीले ज्ञान वा सूचनाको अभावमा पीडित पक्षको न्यायमा पहुँच अभिबृद्धि हुन नसकेकोले सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाँले प्रहरी मानव अधिकारका घटनाहरुमा संवेदनशील हुदैं नागरिक समाज तथा संघसस्थाहरुसँग समन्वय र सहकार्य गर्दै काम गरिरहेको बताउनु भयो ।

  

गैसस महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराले रोजगारीको अभावमा यूवाहरु विदेख पलायन हुने कारणले पनि हिंसाका घटनाहरुमा बृद्धि भइरहेकोले सरोकारवाला निकायले मानव अधिकार संरक्षणका लागि सहकार्य र समन्वय गर्न आवश्यक भएको बताउनु भयो । उच्च अदालत वारका प्रतिनिधि उद्धवराज भट्टले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गर्दै आएकोमा इन्सेकलाई धन्यवाद दिदै विवाह गर्ने उमेर कानुनले २० वर्ष तोकिएको भए पनि सानो उमेरमै विवाह गर्ने परिपार्टीले महिलाहरु थप हिंसामा पर्ने गरेकोे बताउनु भयो । मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष भगवती थापाले राजनीतिक हस्तक्षेपका कारण पीडित पक्षले न्याय पाउन नसकेको र स्थानीय तहमा घटनाहरु मिलापत्र गर्ने गरिएकोले पनि महिला हिसाका घटनामा बृद्धि भएको बताउनु भयो । भागिविवाहलाई जबरजस्तीकरणीमा परिणत गरिने, घरपरिवारको सहमती भए पनि प्रहरीको डरले मुद्दा दर्ता गर्नु पर्ने कारण हिंसा बढिरहेको र नगरपालिकाले सेफ हाउस सञ्चालनमा सहयोग नगरेका कारण पीडित महिलाको संरक्षणमा समस्या हुने गरेको अल्पकालिन सेवा केन्द्रका संयोजक मञ्जु केसीले बताउनु भयो । पत्रकार महासंघ, कञ्चनपुरका अध्यक्ष माधव धामीले नशालु पदार्थको सेवन, साइबर अपराध, पारीवरिक कुसंस्कार तथा आमाबाबुको लापरवाहीका कारण पनि बालिबालिकाहरुले हिंसा भोग्नु परेको बताउनुभयो । कानुनको फितलो कार्यान्वयन, जवाफदेहिताको अभाव र नागरिक कर्तब्य र जवाफदेहिताको अभावमा मानव अधिकारको संरक्षण हुन नसकेको माईती नेपाल, कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

लिली कुँवर