








धादिङ । २०७७ पुस ५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा अभिलेख भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ५ गते धादिङबेसीमा सम्पन्न भएको छ । पूर्व वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा सन् २०२० मा बाल अधिकार उल्लङ्घनका घटना सबै भन्दा बढी भएको तथ्याङ्क प्रस्तुत भएको छ । जिल्लामा सन् २०२० मा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमा बाल अधिकारका २० ओटा सहित जम्मा ३४ ओटा घटनाहरू नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि अभिलेख भएको इन्सेक प्रतिनिधिले जानकारी दिनु भयो ।
मानव अधिकार संरक्षणका लागि प्रहरी र कानुन व्यवसायी, महिला अधिकारकर्मी, सञ्चारकर्मी र मानव अधिकारकर्मीहरूको सामुहिक प्रयास आवशयक रहेको कार्यक्रममा सहभागीहरूले बताउनुभएको छ । जिल्ला बार एसोसिएसनका अध्यक्ष कृष्णराज अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी अधिकृत कृष्णकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका सेवा केन्द्रका इन्सपेक्टर जयन्ती थापा, महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जालकी अध्यक्ष गायत्री खतिवडा लगायतका मानव अधिकारकर्मीहरूले वर्ष पुस्तकमा कोभिड–१९ को समयमा नागरिक अधिकार हनन् भएका विषयहरू उल्लेख गर्न आग्रह गर्नुभएको छ ।
सीताराम अधिकारी