नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

खोटाङ । २०८० असार ५ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम असार ५ गते खोटाङमा सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्ध वार्षिक पूर्व समीक्षामार्फत सरोकारवालाबिच मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको हो । समीक्षामा इन्सेकले जिल्लामा अभिलेखीकरण गरेका कुटपिटका चार ओटा, घरेलुहिंसाका आठ ओटा, यौन दुर्व्यवहारका चार ओटा र बलात्कारपछि हत्याको एक ओटा घटना सार्वजनिक गरेको छ । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा सरोकारवालाहरुबाट सुझाव सङ्कलनका लागि अर्ध वार्षिक समीक्षा गरिएको इन्सेक प्रतिनिधिले बताउनु भयो । समीक्षा कार्यक्रममा जिल्लामा रहस्यमय मृत्यु घटनामा पीडितलाई न्यायका लागि पहल गर्न आग्रह गर्दै इन्सेकले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई ज्ञापनपत्र बुझाएको विषयमा सरोकारवालाबिच छलफल गरिएको छ । समीक्षामा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई इन्सेकले मानव अधिकार संरक्षण र सुरक्षाका लागि गरेको कार्य महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले इन्सेकले पीडित परिवारलाई न्यायका लागि उठाएको विषयमध्ये ०७५ साउन ४ गतेको रहस्यमय मृत्यु घटनाकी पीडित देवीमाया विकको घटना न्यायिक प्रक्रियामा रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकार सेढाईले इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथिको समीक्षा कार्यक्रमलाई वडास्तरमा लैजान सकेको खण्डमा सचेतना बढ्ने बताउनु भयो । जिल्ला समन्वय समिति प्रमुख सनवहादुर राईले यौन शिक्षालाई विद्यालयस्तरीय पाठ्यक्रममा समावेश गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मानव अधिकार जन्मसिद्ध अधिकार भएकाले सबैले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन भयो वा भएन भनेर ख्याल राख्नुपर्ने बताउनु भयो । समीक्षामा इन्सेकले स्थानीय तहले निमार्ण गर्ने भौतिक संरचना अपाङ्गमैत्री नभएका कारण अपाङ्गता भएका व्यक्तिले सरकारी सेवा प्राप्त गर्न सकस भएको विषयलाई सरोकारवालाहरूबिच उठान गरेको छ । कार्यक्रममा राट्रिष्य मानव अधिकार आयोग, खोटाङ प्रमुख गीता दाहालले इन्सेकसँग आयोगले सधैँ समन्वय र सहकार्यका आधारमा मानव अधिकार अभियानलाई अघि बढाएको बताउनु भयो । उहाँले जिल्लामा कारागारको अवस्था ठिक नभएकाले कारागारलाई व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नु भयो ।

  

जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जील मकारुङले खोटाङ प्रहरीले प्रदेशमै पहिलो पटक पीडित पुन भेटघाट कार्यक्रमको सुरूआत गरी मानव अधिकारको सवाललाई फरक ढङ्गले सम्बोधनको थालन गरेको बताउनु भयो । जिल्लामा गएको वर्ष प्रहरीको अभिलेख अनुसार २ सय बढी घटना भएकामा यस वर्ष १ सय ५७ ओटा घटना अभिलेखीकरण भयो बताउनु भयो । डिएसपी मकारूले प्रहरीले सामाजिक सचेतनाका २ सय ओटा कार्यक्रम गर्नुपर्ने भएपनि जिल्लामा ३४ ओटा प्रहरी युनिट परिचालन गरी ८ सय बढी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दा समाजमा सकारात्मक सन्देश गएको बताउनु भयो । जिल्ला कारागारका जेलर आन्नद विष्ट कारागारमा शुद्ध खानेपानीको अभाव रहेको बताउनु भयो । उहाँले कैदीबन्दीले खुल्ला मुहानको पानी खानुपर्ने अवस्था रहेकाले पानीको शुद्धीकरण व्यवस्थापन गर्न आवश्यक रहेको बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह इन्सेक अभियानले समाजमा जनचेतना जगाएको बताउनु भयो । पत्रकार महासङ्घ, खोटाङ शाखा अध्यक्ष दीलिप खत्रीले इन्सेकले मानव अधिकार रक्षक पत्रकारलाई आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व पुरा गरेको बताउनु भयो । उहाँले आर्थिक अभावका कारण उपचारमा समस्या पर्नु भएका पत्रकार बद्री आर्चायलाई इन्सेकले आर्थिक सहयोग गरेको बताउनु भयो । अपाङ्ग सेवासङ्घका दिक्तेल नगर अध्यक्ष उमेश आचार्यले अपाङ्गता भएका व्यक्तिले अझै परिचयपत्र पाउन समस्या रहेको बताउनु भयो । उहाँले स्थानीय तहले निर्माण गरिरहेका संरचना अपाङ्गमैत्री नभएको त्यसतर्फ तीन ओटै सरकारको ध्यान जान आश्यक रहेको बताउनु भयो । समीक्षामा मानव अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।

तारानाथ फुयल