नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
कैलाली । २०८० असार १३ गते
इन्सेकको आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १२ गते दार्चुला र डडेल्धुरामा सम्पन्न भएको छ ।
इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), दार्चुलाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १२ गते सदरमुकाम खलंगामा सम्पन्न भएको छ । सन् २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा सङ्कलन गरिएका घट्नाहरुका बारेमा सरोकारवालाहरुबिच अर्धवार्षिक समीक्षा गरी उहाँहरुको सुझाव सङ्कलन गर्न समीक्षा कार्यक्रम आयोजना गरिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी प्रदीपसिह धामीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लाको मानव अधिकारको अवस्था विषयक प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा इन्सेक प्रतिनिधि कार्कीले ६ महिनाको अवधिमा जिल्लामा ३४ घट्ना अभिलेखीकरण भएको जानकारी गराउनु भयो । इन्सेकको अभिलेख अनुसार जिल्लामा पाँच ओटा बलात्कार, २८ ओटा घरेलु हिंसा, एक ओटा बहुविवाह र आर्थिक , सामाजिक तथा सांस्कृति अधिकार अन्तर्गत एक र स्वास्थ्य अधिकार अन्तर्गत एक ओटा घटना अभिलेखीकरण गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी धामीले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा राज्यलाई झकझक्याउन इन्सेकले विगतदेखि भूमिका खेल्दै आएको बताउनु भयो । उहाँले भन्नु भयो– ‘इन्सेकले जिल्लाको मानव अधिकारको अवस्था अभिलेखीकरण गरी वकालतमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन महत्वपूर्ण भूमिका खेलेको छ । इन्सेकले सञ्चालन गरेका मानव अधिकारको अभियानमा जिल्लास्थित सरोकारवाला निकायहरुले पनि सहयोग गर्न आवश्यक छ ।’
महिला मानव अधिकारकर्मी गौरी बडालले अहिले पनि महिलाहरु पीडित हुने सङ्ख्या बढेको भन्दै महिलाको सुरक्षामा विशेष भूमिका खेल्न सरोकारवालाहरुलाई आग्रह गर्नु भयो । उहाँले जिल्लाका नौ ओटै स्थानीय तहमा न्यायिक समिति हुँदाहुँदै पनि महिलासम्बन्धी अधिकांश घटना जिल्लामै आउने गरेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका, डिएसपी तर्कराज पाण्डेले मानव अधिकारको सवालमा सुरक्षा निकाय सम्वेदनशील रहेको बताउनु भयो । प्रहरीमा आउने मुद्दाको सवालमा प्रहरीले निष्पक्ष भएर काम गर्दै आएको उल्लेख गर्नुभयो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्तले यो वर्ष जिल्लामा बाल अधिकारका घटना बढेकोप्रति चिन्ता व्यक्त गर्नु भयो । उहाँले विभिन्न कारणले बालबालिकाको मृत्यु भइरहेको सरोकारवालाहरु जिम्मेवार भएर काम गर्नु पर्ने बताउनु भयो ।
इन्सेक डडेल्धुरा प्रतिनिधि शेरबहादुर भण्डारीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), डडेल्धुराको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १२ गते सम्पन्न भएको छ । इन्सेक डडेल्धुरा प्रतिनिधि शेरबहादुर भण्डारीले सन् २०२३ जनवरीदेखि सन् २०२३ जुनसम्मको अवधिमा जिल्लामा २२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको तथ्याङ्क समीक्षा कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । इन्सेक प्रतिनिधि भण्डारीका अनुसार ६ महिनाको अवधिमा १९ ओटा घरेलु हिंसा, दुई ओटा महिला हिंसा र एउटा हत्याको घटना भएका छन् । प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले समाजमा अझैं पनि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भइरहेकाले त्यस्ता घटनाको स्थलगत अध्ययन तथा तथ्यमा आधारित भएर सूचना सङ्कलन गर्नु पर्ने बताउनु भयो । विगतदेखि नै इन्सेकले मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको भन्दै उहाँले अझैं थप परिस्कृत भएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।
नेपाल पत्रकार महासंघ, डडेल्धुरा शाखाका अध्यक्ष हिक्मत सिंहले बाँच्न पाउने अधिकार तथा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सहज पहुँचबाट दलित तथा विपन्न समुदाय वञ्चित रहेकोले त्यसतर्फ इन्सेकले ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले जिल्लाको परशुराम नगरपालिकामा रहेका लोपोन्मुख जाती राउटेका घर वर्षौदेखि निर्माणाधिन रहेकोले यस्ता विषयहरुलाई पनि वर्ष पुस्तकमा समेट्नु पर्ने सुझाव दिनु भयो । सामाजिक अभियन्ता सुनिता गैरेले कानुनी रुपमा जातीय छुवाछुत दण्डनिय अपराधका रुपमा व्याख्या गरिएको भए पनि समाजमा जातीय छुवाछुत अन्त्य नभएकोले यसका लागि सम्बन्धित सरोकारवाला सबैले एकजुट हुनुपर्ने बताउनु भयो । अधिवक्ता बिष्णु भट्टले इन्सेकले लामो समयदेखि मानव अधिकारको वकालत गर्दै आएको र विगतको तुलनामा मानव अधिकारका क्षेत्रमा केही सुधार आएको भएपनि नागरिकहरुले पूर्ण रुपमा मानव अधिकारको अनुभूति गर्न नपाएको बताउनु भयो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी