नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
सिरहा । २०८० असार १४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम समपन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले असार १४ गते आयोजित कार्यक्रममा सन २०२३ को ६ महिनाको जिल्लाको मानव अधिकारको अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा जिल्लामा ४० ओटा मानव अधिकार हनन्का घटनाहरू सङ्कलन गरीएको थियो । जसमा बालिका बलात्कारका ९ ओटा घटना, यौन दुर्व्यवहारको ४, महिला बलात्कारको ८, परिवारजनबाट हत्या २, बहुविवाह ८ लगायतका ४० ओटा घटना भएको तथ्याङ्क प्रस्तुत गरीएको थियो । ४० ओटा घटनामा २ पुरुष ३८ महिला गरी ४० जना पीडित भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीेले इन्सेक लगायत अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले गर्दा सरकार तथा सरोकारवालाहरू नीति तथा कानून बनाउन बाध्य भएको बताउनु भयो । सरकारले आफै गर्नु पर्ने काम संघ संस्थाले गरेर सरकारलाई सघाएकोले सरोकारवालाहरू सचेत र सक्रिय भएको बताउनु भयो । महिलाहरू हिंसा बाट पीडित भएको तथ्याङ्क त छ तर पुरुषहरू पनि पीडित भएको बताउदै इन्सेकले सोको पनि अभिलेख राख्नु पर्ने उहाँले बताउनु भयो ।
इलाका प्रशासन कार्यालय लहानका प्रमुख दिपक कोइरालाले पुस्तकमा अभिलेख गरेर इन्सेकले दस्ताबेजको काम गरेको बताउनु भयो । पुस्तक निकालेर मात्र समस्या समाधान हुदैन । समस्या समाधानको लागि निरन्तर सरोकारवालाहरूलाई घच्घचाइ राख्नु पर्ने बताउनु भयो । समाजबाट हिंसा हटाउन कर्तव्य र अधिकारको पालना सबैले गरे सहजै हट्न सक्ने उहाँले बताउनु भयो । त्यसैगरी इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर कोमल ठाकुरले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकबाट हामीले सिक्ने गरेको बताउनु भयो । प्रहरी एक्लैले मात्रै अपराध न्यूनकरण गर्न नसक्ने हुँदा सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो । हिंसा पीडितहरूको सुरक्षाबासको लागि संघ संस्था तथा स्थानीय सरकारले पहल गर्नु पर्ने इन्सपेक्टर ठाकुरले बताउनु भयो ।अधिकारकर्मी श्यामकुमारी साहले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले सबै खाले अधिकारहरूलाई समेटेर राम्रो गरेको बताउनु भयो । इन्सेक प्रतिनिधिले मात्र जिल्ला भरीको सबै तथ्याङ्क समेट्न नसक्ने भएकोले सबैले सूचनाको श्रोत भई सहयोग गर्नु पर्ने र सङ्कलित तथ्याङ्कहरूलाई न्यायको पहल सम्म पनि पुर्याउन सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।
दुर्गा परियार