नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

बाजुरा । २०८० असार १५ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि जिल्लामा संकलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको  अर्ध वार्षिक समीक्षा ०८० असार १५ गते सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । मानव अधिकारसँग सरोकार राख्ने जिल्लास्थित सरकारी तथा गैरसरकारी सस्था, प्रहरी, पत्रकार, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थितिमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले  सन् २०२३  जनवरीदेखि सन् २०२३ जुनसम्म संकलन गरेका ३६ ओटा घटनाको विवरण प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत गरिएका ३६ ओटा घटनामा बलात्कारबाट पाँच, बहुविवाहबाट चार, घरेलु हिंसाबाट २५ र जातीय छुवाछुतका दुई जना पीडित भएको उल्लेख छ । प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले  ६ महिनाको अवधिमा यतिधेरै मानव अधिकारसँगसम्बन्धीत घटनाहरु हुन दुखद भएको बताउँदै मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुमा कमी ल्याउन सबै पक्षले ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले  मानव अधिकारबाट पीडित भएकाहरुलाई न्यायको अनुभूति दिलाउन, पीडितहरुलाई उचित क्षतिपुर्तिका लागि आफू प्रतिवद्ध भएको र ग्रामीण क्षेत्रमा भएका घटनाहरुलाई सतहिकरण गर्न स्थानीय तहसँग समन्वय गर्न सुझाव दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी कविन्द्र बोहोराले समुदायमा विभिन्न प्रकारका घटनाहरूलाई सरकारी तथा गैरसरकारी माध्यमबाट उजागर गर्न जरूरी रहेको र  मानव अधिकारका सवालमा इन्सेकले प्रहरी प्रशासनसँग गरेको सहकार्य र सहयोगले घटना न्यूनिकरण, अनुसन्धान तथा सूचना प्रबाहमा सहज भएको बताउनु भयो । नेपाल पत्रकार महासघका निवर्तमान अध्यक्ष प्रकाश सिंहले इन्सेकले मानव अधिकारका क्षेत्रमा गरेको कामप्रति प्रशंसा गर्नु भयो ।  इन्सेकले जिल्लाको कुपोषण, बालविवाह, औषधि व्यवस्थापन, मुक्त हलियाको पुनस्र्थापनालगायतका सवालहरुलाई अभिलेखीकरण गर्दै राज्यलाई जवाफदेहि बनाउन महत्वपूर्ण कार्य गरेको बताउनु भयो । बडिमालिका नगरपालिकाका रोजगार संयोजक प्रमिला थापाले महिला हिंसाका घटनामा बृद्धि हुनु चिन्ताको बिषय भएकोले घरेलु हिंसा अन्त्य गर्नका लागि मदिरा बिक्रीवितरण व्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।

पदमबहादुर सिंह