नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०८० असार १९ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम नवलपरासी पूर्वमा असार १८ गते सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक नवलपरासी पूर्वका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले पछिल्लो ६ महिनामा अभिलेखिकरण गरिएका १४ ओटा घटनाहरुको बारेमा जानकारी गराउनु भयो । अभिलेखित घटना अनुसार पाँच जना बालिका बलात्कार र यौन दुर्व्यवहारका घटनामा पीडित भए । दुई जना महिला बलात्कार घटनामा पीडित भए भने ६ जना महिला हिंसाको घटनामा पीडित भए । एक जना प्रहरीको कुटपिटमा घाइते भएका घटना कार्यक्रममा प्रस्तुत गरिएको थियो । जिल्ला प्रतिनिधि डुम्रेले जिल्लामा निःशुल्क शिक्षा कार्यान्वयन, भूमिसम्बन्धी अधिकार, बाल अधिकार, स्वास्थ्यको अधिकारको अवस्थाबारे जानकारी गराउनु भयो । पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा भएको वायु प्रदुषण र वन डढेलोको कारण वातावरणसम्बन्धी हक प्राप्तिको विषयमा स्थानीय समुदायले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि समस्या सामाधान हुन नसकेको उहाँले बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासी पूर्वका प्रमुख बाबुराम विश्वकर्माले बलियो पक्षबाट कमजोर पक्ष र राज्यबाट नागरिकको मानव अधिकारको हनन् हुने भन्दै मानव अधिकारको रक्षाको लागि सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको बताउनु भयो । उहाँले जातीय विभेदका घटनाबाट पीडित बन्ने दलित समुदायका व्यक्तिको कानुनी उपचारसम्म आउन नसक्दा ति घटनाबारे बोलिदिने कोही नहुने बताउनु भयो । उहाँले बाल विवाहको घटना जस्तै जातीय विभेद पनि समाजमा विद्यमान भएपनि ति घटनाहरू मुलप्रवाहीकरणमा आउन नसकेको भन्दै मानव अधिकारको क्षेत्रमा कार्य गर्ने संस्थाहरूले ति विषयहरूमा आवाज बुलन्द गराउन आवश्यक रहेको बताउनु भयो । आदिवासी जनजाति महासङ्घका अध्यक्ष रामकुमार श्रेष्ठले द्वन्द्वका समयमा राज्यपक्षबाट भएका कतिपय मानव अधिकार हनन्का घटनामा पीडित भएका व्यक्तिहरू अझैपनि न्यायको पहुँचमा पुग्न नसकेको भन्दै ति व्यक्तिहरूको अधिकारको पक्षमा सबै पक्ष बोल्न आवश्यक रहेको बताउनु भयो । नेपाल पत्रकार महासङ्घका सभापति विरेन्द्र पराजुलीले पत्रकारहरू मानव अधिकार रक्षक भएको भन्दै समुदायमा हुने अधिकार हनन्का विषयमा अग्रसर भएर कलम चलाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
अनलाइन डेस्क