नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

झापा । २०८० असार २१ गते

इन्सेक, झापाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार २१ गते विर्तामोडमा सम्पन्न गरेको छ । सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा ६८ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूबाट ६९ जना पीडित भएको अभिलेख इन्सेकले सार्वजनिक गरेको छ । ६ महिनाको अवधिमा जिल्लामा राज्य पक्षबाट गोली प्रहार दुई जना, हत्याबाट दुई जना, बलात्कार र बलात्कार प्रयासका ४० ओटा, वहुविवाह २० ओटा मानव वेचविखनका एक ओटा,गर्भपतनको एक ओटा, बाल यौन दुर्व्यवहारका १० ओटा, कुटपिटका एक ओटा, आत्महत्या दुरूत्साहनको एक र घरेलु हिंसाको एक ओटा गरी ६८ ओटा घटनामा ६९ जना पीडित भएको अभिलेख इन्सेकले सार्वजनिक गरेको छ । समीक्षामा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सामाजिक सवाललाई मानव अधिकारसँग जोडेर लैजानुपर्ने बताउनु भयो । उहाँले नगरपालिका वा गाउँपालिकाले मानव अधिकार कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरेर लैजानुपर्नेमा जोड दिनु भयो । मानव अधिकार शिक्षालाई प्राथमिकीकरण गर्न सकेको खण्डमा मात्र समाजमा मानव अधिकार बलियो हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी दुर्गाराज रेग्मीले मानव अधिकारको रक्षा गर्ने प्रतिवद्ध रहेको बताउनु भयो । प्रहरी पीडितमैत्री भएर कानुन कार्यान्वयन गर्ने भएकाले मानव अधिकारको अवस्था क्रमश सुधार हुँदै गएको एसपी रेग्मीले बताउनु भयो ।

समीक्षा कार्यक्रममा मानव अधिकार सञ्जाल, झापाका अध्यक्ष डाक्टर रूपक खनालले मानव अधिकार विषय राज्यसँग जोडिएकोले राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिनु भयो । आदिवासी जनजाति महासङ्घ, झापाका अध्यक्ष पाण्डवलाल चौधरीले इन्सेकले समीक्षाको माध्यमबाट सीमान्तकृतका मुद्दामा छलफल गर्ने अवसर प्रदान गरेको बताउनु भयो । उहाँले प्रहरीले आन्दोलनमा अनावश्यक बल प्रयोग गरेको आरोप लगाउनु भयो । दलित अधिकारकर्मी सूर्यबहादुर विश्वकर्मा विभेद अन्त्य गर्न सामाजिक अन्तरघुलन कार्यक्रम ल्याउन प्रशासन र मानव अधिकारकर्मीलाई आग्रह गर्नु भयो । कार्यक्रममा अधिकारकर्मीहरू कञ्चना ढकाल, विकास कोइराला, रेखा अधिकारीलगायतले जिल्लाको मानव अधिकार अवस्थाको बारेमा चासो राखेका थिए । पत्रकार पर्वत पोर्तेलले छुवाछुतको मुद्दा प्रहरीसँग नआउनुका कारण के हो ? भनी प्रश्न गर्नु भयो । जिल्ला प्रहरी कार्यालय दलित सेलले के काम गर्दै भनी जिज्ञासा राख्नु भयो । पत्रकार चीरञ्जीवी घिमिरेले प्रहरीले गिरफ्तारपछि पनि कुटपिट गर्ने गरेको अझै आरोप लाग्ने गरेको बताउनु भयो । महिला अधिकारकर्मी सङ्गीता रौनियारले अन्तरजातीय विवाहित जोडीहरूले समाजमा विभेदमा परेको बताउनु भयो । कार्यक्रममा महिला अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।

नरेश खाती