नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
उदयपुर । २०८० असार २३ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार २३ गते समीक्षा गरिएको छ । इन्सेक उदयपुरको आयोजनामा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २ सय ७३ ओटा घटनामा समीक्षा गरिएको छ । इन्सेक अभिलेखका आधारमा ०७९ पुस १७ गते देखि ०८० असार २० गतेसम्म जिल्लामा बालिका बलात्कारका २३ ओटा, महिला बलत्कारका नौ ओटा, घरेलु हिंसाका २ सय २५ ओटा, हत्याका चार ओटा, कुटपिटका तीन ओटा, वहुविवाहका तीन ओटा, बालविवाहका दुई ओटा, बालिका वेचविखनका दुई ओटा, महिला बेचबिखनका तीन ओटा र झडपको घटना एक गरी २ सय ७३ ओटा घटना अभिलेख भए गरिएको तथ्याङ्क इन्सेक प्रतिनिधिले सार्वजनिक गर्नु भएको छ । प्रतिवेदनमा तीन वर्षीया बालिकादेखि ४२ वर्षीया महिलासम्म बलात्कार घटनाको पीडित बनेको उल्लेख गरिएको छ । महिला तथा बालिकाहरू परिवारका सदस्य दाजुभाई, आफन्त, नजिकका छिमेकी र नातेदारबाट पीडित भएको इन्सेकले अभिलेखमा उल्लेख गरेको छ । प्रतिवेदनमा जिल्ला कारगारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी रहेको, जिल्लाका सरकारी कार्यालयहरु अपाङ्गमैत्री नरहेको, बालसुधार गृह नहुँदा आरोपितहरूलाई हिरासतमै राख्नुपरेको, बाल श्रमिक, वेवारिसे तथा लागुपदार्थ दुव्र्यसनमा लागेका बालबालिका तथा किशोरकिशोरीहरुको सङ्ख्या बढ्दै गइरहेको तथ्याङ्क उल्लेख गरिएको छ । सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको अभावमा बिरामीहरुले अकालमा ज्यान गुमाउनु परेको, भौगोलिक बिकटताका कारण अव्यबस्थित सडक सञ्जाल र खोलानालामा पुलको अभावमा नागरिकहरूले सास्ती भोग्नुपरेको, लघुवित्त तथा सहकारी संस्थाहरुबाट महिलाहरु पीडित बन्नुपरेको, पर्याप्त र जिल्लाका पहाडी तथा ग्रामीण क्षेत्रमा स्वच्छ खानेपानीको अभाव रहेको, बसाइसराईका कारण पहाडी क्षेत्रका खेतबारी बाँझिने क्रम बढ्दो रहेको, आत्महत्या, साईबर अपराध जस्ता घटनामा वृद्धि भएको विषयलाई इन्सेकले समीक्षामा सरोकारवालाबिच उठान गरेको छ ।
समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढ्दै गएको प्रति दुःख व्यक्त गर्दै सबै सरोकारवालाहरूको सामूहिक पहलकदमी, योजना तथा कार्यक्रमहरूबाट मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनीकरण गर्न सकिने बताउनु भयो । उहाँले पीडितहरूलाई न्यायको पहुँचमा पुर्याउने दायित्व सबैको रहेको भन्दै अपराध न्यूनीकरणका लागि इन्सेकले समुदाय, विद्यालय र सरोकारवाला निकाय सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिनन्दन चौधरीले मानव अधिकार रक्षा गर्नु प्रहरीको पहिलो कर्तव्य भएको बताउनु भयो । उहाँले इन्सेकले उठाएका विषयले मानव अधिकारका सवालमा प्रहरीलाई सहजीकरण भएको बताउनु भयो । समीक्षामा जाल्पा एकीकृत विकास समाज उदयपुरका रुद्र पोखरेल, हुरेण्डेकका अध्यक्ष शंंकर थापा, महिला अधिकारकर्मी देवी कटुवाल, अधिकारकर्मी माया भण्डारी, डिफानकी कार्यक्रम संयोजक प्रतिभा शाह, ओरेक नेपालकी बालिका कार्की, फेडो उदयपुरकी अध्यक्ष शुसिला परियार, ओसिएमसीकी सरस्वती पौडेल, द्धन्दपीडित एकल महिला सञ्जाल उदयपुरकी अध्यक्ष दुर्गा कार्की लगायतले बोल्नु भएको थियो । कार्यक्रमका वक्ताहरूले जिल्लामा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनासँगै सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकारका घटनाको अवस्था समेत भयावह रहेकाले त्यसतर्फ सबै सचेत र सजग हुनुपर्ने धारणा व्यक्त गर्नु भएको छ । घरेलु हिंसाका कारण सम्बन्ध बिच्छेदका घटना बढ्दै गइरहेको र यसले परिवार बिखण्डनको ठूलो समस्या निम्त्याएको भन्दै सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् । कार्यक्रममा अधिकारकर्मीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सभाध्यक्षता गैसस महासङ्घ उदयपुरकी अध्यक्ष सिर्जना बस्नेत (पौडेल)ले गर्नुभएको थियो ।
राकेश नेपाली