नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

मोरङ । २०८० असार २६ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम असार २६ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मोरङले वर्ष पुस्तक २०२४ को अर्ध वार्षिक समीक्षा सम्पन्न गरिएको हो । जिल्लामा ६ महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ९५ ओटा घटना अभिलेख  गरिएको इन्सेकले जनाएको छ । जिल्लामा कुटपिटका ६, बेचविखनका तीन, सार्वजनिक सम्पत्तिमा तोडफोडका चार, दुर्व्यवहारका पाँच, हत्याका आठ, हत्या प्रयासका आठ, बलात्कार र बलात्कार प्रयासका २० ओटा घटना अभिलेख गरिएको इन्सेकले जनाएको छ । सात जना महिला र १० जना बालिका गरी १७ जना बलात्कार घटनामा पीडित भएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । यौन दुर्व्यवहारका दुई ओटा, घरेलु हिंसाका २२ ओटा, बहुविवाहका १० ओटा, गर्भसंरक्षण विरूद्धको एक ओटा घटना अभिलेख गरिएको इन्सेकले जनाएको छ । सन् २०२३ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा गिरफ्तारीका तीन र झडपका तीन ओटा घटना इन्सेकले अभिलेख गरेको छ । इन्सेक मोरङ प्रतिनिधिले सार्वजनिक गरेको तथ्याङ्कमा जिल्लामा एक जना चिकित्सक, एक जना पत्रकारमाथि दुर्व्यवहार र दुई जना पत्रकारमाथि साङ्घातिक हमला भएको अभिलेखीकरण गरिएको छ । इन्सेकको प्रतिवेदनमा मोरङ कारागारका कैदी बन्दीको दयनीय अवस्था रहेको क्षमता भन्दा बढी कैदी बन्दी राखिएको भन्दै कारागारका कैदी बन्दीको मानवअधिकार रक्षाका लागि इन्सेकले उच्च अदालत विराटनगरमा रिट दायर गरेको प्रतिवेदनमा उल्लेख छ । अर्ध वार्षिक प्रतिवेदन माथिको छलफलमा सहभागीहरूले मोरङ कारागारमा कैदी बन्दीहरूको अवस्था सुधारको माग गर्दै इन्सेकले रिट दायर गर्नु सहृानीय कार्य भएको बताएका छन् ।

 

जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झाले कारागारको अवस्था सुधारका लागि इन्सेकले गरेको पहल सहृानीय भएको बताउनु भयो । उहाँले कारागारको मात्रै नभइ विराटनगरस्थित बालसुधार गृहको अवस्था पनि सुधार गर्न आवश्यक रहेको बताउनु भयो । बाल सुधार गृहमा क्षमता भन्दा धेरै बालकहरूलाई राखिएका कारण बालसुधार गृहमा बसेकाहरूको आधारभूत मानवअधिकार पनि हनन भएको उपप्रमुख झाले बताउनु भयो । झाले कोशी अस्पतालको सेवा सुधारका लागि पनि अधिकारवादी संस्थाहरूको पहल र खबरदारी आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालय, विराटनगरका प्रमुख पवनकुमार भट्टले मोरङलगायत कोशी प्रदेशमै मानव अधिकार उल्लङ्घनका घटनाबारे मानव अधिकार आयोगले पनि स्थलगत अनुगमन गरेको बताउनु भयो । कोशी प्रदेशका पहाडी जिल्लाहरूमा प्राकृतिक प्रकोपका कारण धन जनको क्षति भएको, अझै कतिपय मानिसहरू वेपत्ता भएको उनिहरूको अवस्थाबारे पत्ता लाग्न नसकेको भट्टले बताउनु भयो । बालसुधार गृह विराटनगरका प्रमुख मिलन चौहानले बाल सुधार गृहमा क्षमता भन्दा बढी बाल विज्याईँ गरेका बालकहरू राखिएका कारण व्यवस्थापनमा समस्या भएको बताउनु भयो । उहाँले ५० जना क्षमताको बालसुधार गृहमा हाल २ सय ५ जना बालकहरू राखिएका कारण बाल अधिकारको हनन भएको बताउनु भयो । १ सय भन्दा बढी १८ वर्ष माथिका भए पनि उनिहरूका लागि छुट्टै राख्ने ठाउँ नहुँदा नाबालक र सावालक दुबैलाईसँगै राखिएको चौहानले बताउनु भयो । कार्यक्रममा इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापा, कार्यक्रम अधिकृत बागमती कट्टेल, प्रलेख अधिकृत पुण्य अधिकारीलगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू र  पत्रकारहरूको सहभागिता थियो ।

विनोद सुवेदी