नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
धादिङ । २०८० मङ्सिर २४ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व धादिङमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक धादिङ जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधिले सन् २०२३ मा धादिङमा इन्सेकले सङ्कलन गरेका घटना बारे जानकारी गराउनुभएको थियो । उहाँले धादिङमा यस वर्ष ६९ ओटा घटना सङ्कलन भएकामा कथित बोक्सी आरोप एक जना, बहुविवाह एक जना, बलात्कार आठ जना, बलात्कार प्रयास ६ जना, महिला बेचबिखन दुई जना, बालबालिका बेचबिखन एक जना, शारीरिक सजाय एक जना, बालबालिका बलात्कार १८ जना, यौन दुर्व्यवहार ६ जना, राजनीतिक गतिविधिमा बालबालिका प्रयोग एक जना घटना भएको जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले जन्मेदेखी मरुन्जेलसम्मका अधिकार प्रत्याभूत गर्न सबै लाग्नु पर्ने बताउनु भयो । संविधानको पालना गर्न सके मात्रै पनि मानव अधिकार सुनिश्चित हुने उहाँको भनाई छ । अपाङ्गता, दलित, महिला जस्ता पीडितले न्याय पाउन सकेको छैन । सरकारले दिने छुट समेत नपाएको र सवारी साधनमा समेत छुट नपाएको अपाङ्गता अधिकारमा क्रियाशिल दुर्गाप्रसाद थपलियाले गुनासो गर्नुभयो ।
विगतका समयमा नेपाल मानव अधिकार वर्ष पुस्तकमा उठाइएका सवालहरु कुन चरणमा पुगे, सरकार मानवअधिकार आयोगले कसरी सम्बोधन गरे भन्नेबारे नेपाल पत्रकार महासङ्घकका अध्यक्ष राजाराम शर्माले प्रश्न गर्नुभयो । पीडित गाउँमा छ्न्, न्यूनीकरण र सवालका कुरा शहरी क्षेत्रमा हुन्छन् । जबसम्म गाउँमा कार्यक्रम हुन्न तबसम्म न्यूनीकरण गर्न कठिन छ । समस्या भएको ठाउँबाटै समाधान खोज्ने अधिकारकर्मी भगवती पौडेलले आग्रह गर्नुभयो । अपराध नियन्त्रण गरी सभ्य समाज निर्माण गर्न नेपाल प्रहरी तल्लीन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो । मानव अधिकार उल्लङ्घनका घटनाहरू भएका छन् । पीडितलाई न्याय दिलाउन र पीडकलाई कानुनी दायरामा ल्याउन प्रहरीले काम गरिरहेको उहाँको भनाइ छ । नागरिकता सिफारिस, जन्मदर्ता लगायतको विषय जटिल रहेपनि पछिल्लो समय नागरिकले सेवा पाएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको भनाई छ । मानव अधिकारको पहरेदार पत्रकार र अदालत हो । मुद्दाको प्रकृति हेरेर समयसिमा भित्रै न्याय निरुपण भइरहेको जिल्ला अदालतका माधव भण्डारीले बताउनु भयो । मानव अधिकार दिलाउने अन्तिम ढोका भनेकै अदालत भएको र निवेदन परेका केसहरुको सुनुवाइ भएको भण्डारीले उल्लेख गर्नुभयो । सरोकारवाला सबै निकायसङ्ग समन्वय गरेर समयसिमाभित्रै समाधान खोज्ने प्रयास गरिएको भण्डारीको भनाइ छ ।
सीताराम अधिकारी