नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
रसुवा । २०८० मङ्सिर २५ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व रसुवामा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक रसुवा जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधिले सन् २०२३ मा रसुवामा इन्सेकले सङ्कलन गरेका घटना बारे जानकारी गराउनुभएको थियो । यस वर्ष ज्येष्ठ नागरिक हत्या एक ओटा, महिला हत्या एक ओटा, बेपत्ता एक ओटा, यौनजन्य घटना दुई ओटा र अन्य कुटपिटका घटना आठ ओटा गरी १३ ओटा घटना इन्सेक प्रतिनिधिले भएको जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरेले आफू पनि इन्सेक जिल्ला प्रतिनिधि भएर काम गरेको उल्लेख गर्दै मानव अधिकार क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । मानिसले मानव अधिकार प्रत्याभूत गर्न सबै लाग्नु पर्ने बताउनु भयो । संविधानको पालना गर्न सके मात्रै पनि मानव अधिकार सुनिश्चित हुने उहाँको भनाई छ । उहाँले दुर्घटनाबाट मृत्यु, आत्महत्या जस्ता घटना पनि वर्ष पुस्तकले समेट्न सुझाव दिनुभयो ।
जिल्ला समन्वय उपप्रमुख विजय लामाले विगतका समयमा नेपाल मानव अधिकार वर्ष पुस्तकमा घटनाहरू समेटेर राज्य तथा सम्बन्धित पक्षलाई जिम्मेवार बनाउन सघाएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार ज्योतिराम केसीले लैङ्गिक हिंसाका ओटा ओटा उजुरी परेकोमा सबै मिलापत्र भएको बताउनु भयो । कार्यक्रममा, विष्णु रिमाल, दिपक लामा, रितुपेमा तामाङ, सुरेश अधिकारीलगायतका सरोकारवालाहरूले गाउँ गाउँमा मानव अधिकार बारे सचेतना मुलक कार्यक्रम आवश्यक रहेको र मानव अधिकारको संरक्षणका लागि सबैले पक्ष सकरात्मक भएर लाग्नु पर्ने बताउनु भयो ।
हेमनाथ खतिवडा