नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
रुपन्देही । २०८० मङ्सिर २८ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ को लागि सङ्कलित घटनाहरुको वार्षिक समीक्षा मङ्सिर २७ गते भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले सन् २०२३ मा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका ६ सय ५२ ओटा घटनाहरू प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बाल अधिकार अन्तरगत बलात्कारका ४९ वटा, यौन दुर्व्यवहारका १६ वटा, ,महिला अधिकार अन्तरगत बलात्कार १८ वटा र बलात्कार प्रयास ११ वटा, मानव बेचविखन तथा ओसारपसारका सात वटा, परिवारजनबाट हत्या आठ वटा, अपहरण तथा शरिर बन्धक एक, बहुविवाह १५, गर्भपतन एक, नागरिक तथा राजनीतिक अधिकार एक, कथित बोक्सीको आरोप हत्या एक, लैगिंक हिंसा तथा घरेलु हिंसाबाट ५ सय २८ जना पीडित भएको तथ्याङ्क जिल्ला प्रतिनिधि बिसीले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले इन्सेकले प्रकाशन गर्ने पुस्तक मानव अधिकारको क्षेत्रमा अध्ययन गर्नेका लागि स्रोत पुस्तिकाकोरुपमा प्रयोग गर्न सकिने भएकोले यस्ता प्रकाशनहरू तथ्यपरक हुनुपर्ने बताउनु भयो । अर्यालले वर्ष पुस्तकले खाद्य अधिकारको सवालमा जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकमा नियमित अनुगमन गरिरहेको बताउदै मानव अधिकारको संरक्षण, प्रवद्र्धन र परिपूर्तिका लागि सम्वेदनशिल भएर लागेको बताउनु भयो । यसैगरी, अर्का सहायक प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर कुवँरले मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि प्रशासनले मानव अधिकारमैत्री सेवा र नागरिकले अनुभूति गर्ने खालका सेवा प्रवाहमा लागि परेको बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सोमनाथ सुवेदीले सबैले आ–आफ्नो जिम्मेवारीको तहमा बसेर इमान्दारीताका साथ काम गर्यो भने मानव अधिकार संरक्षण र सम्मान हुने भएकोले यस्ता खालका समीक्षाहरूले मानव अधिकारको संस्कारमा विकास पुर्याउनका लागि बल पुग्ने बताउनु भयो ।
बरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले इन्सेकले लामो समयदेखि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाश गर्दे आइरहेकोले वर्ष पुस्तकमा अघिल्लो वर्षका घटनाहरूको कार्यान्वयनको लागि के गर्न सकिन्छ भन्ने विषयमा वर्ष पुस्तकमा समेट्नु पर्ने बताउनु भयो । गौडेलले नागरिकहरूले राष्ट्रियताको सवालमा विभिन्न समस्या भोग्दै आइरहेकोले यस्ता विषयहरूमा पनि इन्सेकले बहस र पैरवीहरु बढाउनुपर्ने बताउनु भयो । नेकपा एमालेका रूपन्देहीका उपसचिव हितराज पन्थीले इन्सेकले बनाउने प्रतिवेदन तथ्यपरक, विषय केन्द्रित, समिक्षात्मक, तुलनात्मक, विश्लेषणात्मक र प्रतिशतका हिसाबले आधार बनाएर अगाडि बढ्न आग्रह गर्नु भयो । यस्ता समीक्षाले राजनीतिक दलहरूले मानव अधिकारमैत्री संस्कारको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि सचेत गराएको भन्दै मानव अधिकारप्रति सचेत र सम्वेदनशील भएको बताउनु भयो ।
नेपाली काग्रेसका प्रतिनिधि हरि प्रसाद काफ्लेले मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आफनो पार्टी सम्वेदनशील भएर अगाडि बढने प्रतिवद्धता जनाउनु भयो । अधिकारकर्मी मनिला न्यौपानेले लैङ्गिक अल्पसंख्यक समुदायको पहिचान, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका विषयमा समस्या भोगिरहेको भन्दै यस्ता विषयमा सम्वेदनशील हुन आग्रह गर्नुभयो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुद्र जिसीले सडक दुर्घटनाका विषय, खाद्य सुरक्षा र शुुद्धता बनाउने कुरामा ध्यान दिने, सेवाग्राहीलाई गर्ने व्यवहार, स्पा क्षेत्र र मनोरञ्जन क्षेत्रमा विभिन्न समस्या भएकोले सो विषयमा पनि अनुगमन गर्न इन्सेकलाई आग्रह गर्नुभयो । अधिकारकर्मी भुमीराज भट्टराईले श्रमजीवि र मजदुरका सवालहरुका विषय र यातायात क्षेत्रमा पनि इन्सेकले अनुगमन गरेर लक्षित वर्गले पाउने सिटका विषयमा पनि आवाज उठान गर्न आग्रह गर्नुभयो । अपाङ्गता अधिकारकर्मी सावित्रा घिमिरेले साक्षरता घोषणा भएको यति लामो समय हुँदा पनि अपांगता भएका व्यक्तिहरूले शिक्षाको अनुभूति गर्न नपाएको भन्दै अपांगता भएका व्यक्तिहरूको न्यायका विषयमा इन्सेकले बहस चलाउनुपर्ने बताउनु भयो । माइती नेपालका प्रमुख माया क्षेत्रीले समाजमा मानव अधिकारको अवस्था सुधार हुनुको सट्टा सधै उस्तै समस्याहरूको विषयमा छलफल गर्ने परिपार्टी हटाउनुपर्ने बताउनु भयो । सिविन बाल हेल्पलाइनका प्रमुख विष्णु पौडेलले बालबालिकाको क्षेत्रमा काम गर्दा उनीहरुका जन्म दर्ताको अवस्था र आफन्तबाटै यौनजन्य हिंसाका घटनाहरू बढी रहेकाले पीडितलाई न्यायमा कसरी पहुँचमा पुर्याउन सकिन्छ भन्ने विषयमा पनि इन्सेकलाई ध्यान दिन आग्रह गर्नुभयो ।
रीमा बिसी