








मुगु । २०८१ असार ९ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते गमगढीमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले सन् २०२४ जानवरी देखि जुन सम्मको सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका १२ ओटा घटना प्रस्तुत गर्नु भएको थियो । कुटपिट चार ओटा , दुर्व्यवहार एक ओटा, महिला हिंसाको सात ओटा घटनाहरु प्रस्तुत गर्नुभएको थियो । ६ महिनाको तथ्याङ्क अनुसार सबै भन्दा बढी महिला हिंसाका घटना रहेको पाइयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलयका डिएसपी बिरेन्द्र थापाले इन्सेकले गरेको मानव अधिकार उल्लङ्घन घटनाको अभिलेखले मानव अधिकारमा ठुलो सहयोग पुर्याएको बताउनु भयो । जिल्ला प्रहरी कार्यलयमा परेका उजुरी राम्रोसँग विवरण नराखेको इन्सेकको गुनासो प्रति आफ्नो ध्यानाकर्षण भएको र अब आउदा दिनहरुमा सबै विवरण अभिलेख गर्ने उहाँले बताउनु भयो ।
जिल्ला नागरिक समाजका अगुवा रुप बहादुर मल्लले इन्सेकले सङ्कलन गरेका घटना यथार्थ भएको र मानव अधिकार उल्लङ्घन सम्बन्धीका घटना न्यूनीकरणका लागि इन्सेकले जनचेतना मुलुक तालिम वा गोष्ठी गर्न इन्सेकलाई सुझाव दिनु भयो र स्थानीय सरकारका न्यायिक समितिहरु कमजोर भएको कारण स्थानीय तहमा मानव अधिकारका उजुरी नै नपर्ने गरेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ले जिल्लामा समयमा खाद्यान्न नआउने र अभाव भएर जनताले दुःख पाउने गरेको कुरालाई खाद्य अधिकारको बारेमा घटनामा विशेष जोड दिनको लागि इन्सेकलाई आग्रह गर्नु भयो ।
जिल्ला सरकारी वकिल कार्यालयका अधिवक्ता चन्द्र बहादुर खत्रीले जिल्लामा मानव अधिकारका उजुरी प्राय जिल्ला प्रहरी कार्यलयमा आउने र मेलमिलाप हुने कुरा बताउनु भयो ।
कार्यक्रममा पुर्व इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले जिल्लामा सबै भन्दा बढी महिला हिंसाका घटनाहरु हुने तर स्थानीय तहको न्यायिक समितिमा नआउने र गाउँमा भएका प्रहरी चौकिमा नै मेलमिलाप हुने उक्त क्षेत्रमा सम्पर्क गरेर घटना सङ्कलन गर्न सुझाव दिनु भयो ।
सर्जन कुमार शाही