








बारा । २०८१ असार १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को प्रकाशन पूर्व ०८१ असार १६ गते बारामा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलले सन २०२४ जनवरी देखि जुन सम्मको मानव अधिकारको अवस्था बारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
जिल्लामा ४९ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरू सङ्कलन गरीएको थियो । घरेलु हिंसा १९ ओटा घटना, बलात्कार प्रयास दुई ओटा घटना, बलात्कार ६ ओटा घटना, आत्महत्या दुरुत्साहन एक ओटा घटना, ज्यान मार्ने प्रयास एक ओटा घटना, बिद्युतीय कारोबार सम्बन्धी कसुर चार ओटा घटना, बाल यौन दुर्व्यवहार तीन ओटा घटना, बहुविवाह ६ ओटा घटना, हत्या तीन ओटा घटना भएको तथ्याङ्क प्रस्तुत गरीएको थियो । ४९ ओटा घटनामा ५० जना पीडित भएका थिए । आरोपित ५९ जनामा ३७ जना गिरफ्तार भएका र २२ जना आरेपित फरार रहेका छन् ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ छविरमण भट्टराईले सङ्कलन भएका घटनाले जिल्लाको मानव अधिकारको सुक्ष्म विश्लेशण गर्न मद्दत पुग्ने आशा लिएको बताउनु भयो । उहाँले जिल्ल प्रतिनिधिले सङ्कलन गरेका घटनाको पुष्टीका लागि जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायले सहयोग गर्ने बताउनु भयो । उहाँले सबैको सरोकार राख्ने विषयमा इन्सेकका जिल्ला प्रतिनिधिले अझ बढी परीश्रम गर्न पर्ने सुझाव दिनुभयो । उहाँले पीडितको पहिचान गर्न चुक्न नहुने सुझाव दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्यौपानेले राज्यले दिएको कानुनि अधिकारको उपयोग गरेर मानव अधिकारको रक्षा गरिरहेको बताउनु भयो । उहाँले जिल्ला प्रहरी कार्यालय र जिल्लामा रहेका मातहतका कार्यालयमा कार्यरत प्रहरीलाई मानव अधिकारको पालना गर्न मार्ग दर्शन गरेको बताउनु भयो । नागरिकका तर्फबाट मानव अधिकारको उल्लङ्घनका घटना बढेको बताउनु भयो । उहाँले मानव अधिकारका उल्लङ्घनका सबै घटनामा इन्सेक पुग्न आवश्यक भएको बताउनु भयो । उहाँले केही घटना छुटेकाले समावेश गर्न सुझाव दिनुभयो ।
राष्ट्रिय अनुसन्धान कार्यालय बाराका रामबाबु चौधरीले इन्सेकले प्रकाशन गर्दै आएको वर्ष पुस्तक उपयोगि भएकाले यसको प्रकाशन पूर्व सरोकारवाला निकायको गहिरो समन्वय गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मानव अधिकार रक्षा गर्न र घटना सङ्कलन गर्ने कार्यमा कार्यालयले सहयोगिको भुमिका खेल्ने बताउनु भयो । जिल्ला अदालतका कृष्ण प्रसाद दाहालले इन्सेकलाई सहयोग चाहिएमा जिल्ला अदालत आउन आग्रह गर्नुभयो ।
नागरिक समाज बाराका महासचिव हिरालाल साहले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना छुटेकाले आगामी दिनमा सबै घटना समावेश गर्न आग्रह गनुभयो ।
भोलानाथ पौडेल