








इलाम । २०८१ असार १९ गते
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि इलाम जिल्लामा सङ्कलित घटनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम असार १९ गते इलाममा सम्पन्न गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सन् २०२४ जनवरीदेखि जुनसम्मका ६ महिनाका घटनाहरूका विषयमा सरोकारवालाहरुसँग समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
इन्सेकले सङ्कलन गरेको घटनामाथि त्रुटि सच्चाउने र छुटेका घटना समावेश गर्ने उद्देश्यले अर्धवार्षिक समीक्षा कार्यक्रम गरिएको हो ।
इलाम जिल्ला प्रतिनिधिले जिल्लामा ६ महिनादेखिका घटनालाई प्रस्तुत गर्नुभएको थियो । इन्सेकले इलाम जिल्लामा सन् २०२४ जनवरीदेखी जुनसम्म ३२ ओटा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना इन्सेकले अभिलेख गरेको छ । बलात्कारका १२ ओटा घटना अभिलेख गरिएका छन् । ती मध्ये बालिका बलात्कारका सात ओटा र महिला बलात्कारका पाँच ओटा छन् । त्यसैगरी हत्याको दुई र परिवारजनबाट हत्याको एक ओटा अभिलेख गरिएको छ । घरेलु हिंसाका सात र अभद्र व्यवहारको दश ओटा घटना इन्सेकले अभिलेख राखेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले अन्य जिल्लाको तुलनामा इलाममा मानव अधिकार उल्लङ्घनका घटना कम नै देखिएपनि घटना शूण्य बनाउनतर्फ सबै सचेत बन्नुपर्ने बताउनु भयो । ‘तराईका जिल्लामा हेरी यहाँको अवस्था त सामान्य नै छ । तर, यसलाई शूण्य बनाउन हामी जुट्नपर्छ ।’ प्रमुख जिल्ला अधिकारीले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जवेगुले इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएका डाटा र छलफलमा उठेका अन्य मानव अधिकारका विषयमा प्रहरी सचेत भएर अघि बढ्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले इन्सेकले मावनअधिकार रक्षाका लागि उल्लेखनीय काम गरेको बताउनु भयो । जिल्लामा मानव अधिकारको अवस्था कस्तो रह्यो भन्ने कुरा इन्सेकको अभिलेखले सङ्केत उहाँको भनाइ थियो । स्थानीय सरकार मानव अधिकार रक्षाका लागि शसक्त भएर काम गरिरहेको उहाँको भनाइ छ ।
मानव अधिकार मञ्च नेपाल, इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले इन्सेक र मञ्चले सँधै सहकार्य गर्दे आएकाले इलाममा मानव अधिकारको अवस्था सरोकारवालालाई बुझाउन सहज हुने गरेको बताउनुभयो । उहाँले सामाजिक, साँस्कृतिक र राजनीतिक अधिकारका विषयमा छलफल भइ रहनुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस इलामका सचिव निरोज खड्गीले मानवअधिकार उल्लङ्घनमा राज्य संलग्न हुने र अपराधमा आम मान्छेको संलग्नता हुने बताउनु भयो । ‘प्रहरीमा सहजै उजुरी दर्ता नहुनु पनि मानवअधिकार उल्लङ्घन हो’ उहाँले बताउनु भयो । उहाँले इन्सेकले आगामी दिनमा अझ परिस्कृत हुँदै डाटाहरु प्रस्तुत गर्दा राज्यपक्षबाट भएका घटनालाई छुट्टै अभिलेख गर्न अनुरोध गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष विप्लप भट्टराईले इन्सेकले सङ्कलन गरेका घटनालाई राज्यले सचेत भएर आगामी दिनमा यस्ता घटनालाई न्यूनीकरण गर्न लाग्नुपर्ने बताउनु भएको छ ।
नेपाल बार एशोसिएसन इलामका अध्यक्ष तारानाथ पराजुलीले इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने वर्ष पुस्तकले मानव अधिकारको अवस्था उजागर हुने भएकाले जनशक्ति थप गरेर सुक्ष्म अध्ययनमा लाग्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले घटना न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेर सरकारी तथा गैरसरकारी निकाय बढी उत्तरदायी बन्नुपर्ने बताउनु भएको छ ।
जिल्ला कारागार इलामका प्रमुख गौरभ ढुङ्गेलले इन्सेकले राज्यतर्फबाट भएका अपराधका घटनाका सम्बन्धमा बढी चासो राख्नुपर्ने सुझाव दिनुभएको छ । राज्य मानवअधिकारका कुरामा गम्भीर र संयमित हुन आवश्यक रहेको उहाँले सुनाउनु भयो । मानव अधिकारकर्मी मनकुमार बराइलीले तीन तहका सरकारले लक्षित समुदायमा बजेट कम छुट्याएर अन्याय गरेको भन्दै यस विषयमा इन्सेकले वकालत गरिदिन आग्रह गर्नु भयो । कार्यक्रममा उपस्थित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले इन्सेकले समेट्ने मानवअधिकारका घटनाहरुमा समाजमा भएका भ्रष्टाचार र बेथितिहरुलाई पनि समेट्नुपर्ने सुझाव दिएका छन् ।
मनोज अधिकारी