नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न
धनकुटा । २०८१ असार २३ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व धनकुटामा अर्धवार्षिक समीक्षा कार्यक्रम ०८१ असार २० गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक धनकुटाले सन् २०२४ को जनवरीदेखि जुनसम्म संकलन भएका मानव अधिकार उल्लंघनका घटनाहरू प्रस्तुत भएको थियो । धनकुटा जिल्लामा सन् २०२४ को जनवरीदेखि जुनसम्म भएका ५६ ओटा घटना प्रस्तुत भएको थियो । प्रस्तुत घटनाहरुमा एक जनाको हत्या, दुईजनाको हत्याको प्रयास, तिन महिला र पाँचजना बालबालिका बलात्कृत, एक महिलाको बलात्कृत पछि हत्या, दुई बालबालिका माथि यौन दुर्व्यवहार, एक जनामा जातिय विभेद, दुईजना आत्माहत्या दुरुत्साहन र ३९ जना घरेलु हिंसामा पीडित भएको तथ्याङ्क संकलन गरिएको छ । कार्यक्रममा बोल्दै इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापाले मानव अधिकार उल्लंघन तथा ज्याततीका घटनामा महिला तथा बढी बालबालिका पीडित हुने गरेको इन्सेक प्रकाशन गर्ने वर्ष पुस्तकका लागि संकलित घटनाको अभिलेखबाट देखिएको बताउनु भयो । उहाँले धनकुटा जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ५६ ओटा घटनामा राज्यपक्षबाट पीडित नपाइएको र अन्य पक्षबाट ५६ जना पीडित भएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रखुम जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जिल्लामा मानवअधिकारको विषयमा प्रतिवेदनले सम्झाएको बताउँदै आगामी दिनमा यस्ता घटना न्यूनीकरणमा लागिपर्ने बताउनु भयो । उहाँले भने कुनकुन विधि र कसरी प्रचारप्रसार गरेर मानव अधिकारका घटना न्यूनीकरण गर्न सकिन्छ सवैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनु भयो । उहाँले संविधानले प्रत्याभुत गरेको मानवअधिकारको विषयमा सबै गम्भिर हुन आवश्यक रहेको बताउँदै नेपाल मानवअधिकार प्रत्याभूत गर्ने पहिलो राष्ट्र रहेको बताउनु भयो । त्यस्तै जिल्ला प्रशासन कार्यालयले धनकुटाका सबै सुरक्षा निकाय र स्थानिय तहहरु सँग छलफल गरी सचेतना मूलक कार्यक्रम गरी रहेको समेत प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरीले धनकुटामा घटना बढ्दै गईरहेकाले मानव अधिकार उल्लंघनका घटनालाई मध्य नजर गर्दै न्युनिकरणका लागी आफ्नो तर्फबाट लागि पर्ने बताउनु भयो । उहाँले कुन तरिकाले सहजिकरण गर्न सकिन्छ त्यसरी अगाडी बढ्न साथ सहयोग समेत गर्ने बताउनु भयो । उहाँले जनजातिको बाहुल्यता रहेको जिल्लामा घरेलु मदिरा नियन्त्रणमा समस्या रहेकोले यसले घरेलु हिंसा बढाएको बताउँदै यसको रोकथामको लागि जनचेतनाका कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्वअध्यक्ष तथा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसञ्तोषी राईले जनचेतनाका कारण मानवअधिकार उल्लंघनका घटना बाहिर आउने क्रम बढेको बताउनु भयो । उहाँले धनकुटालाई देशकै कम मानवअधिकार उल्लंघन हुने जिल्ला बनाउन सबै पक्ष लाग्नुपर्ने बताउँदै धर्म संस्कारको कारणले यस्तो घटना हुने गरेको पाइएकोले यस्तोलाई रोकथाम गर्न समस्या हुने गरेको पाइएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले बालविबाहका घटना बढिरहेको पाइएकाले यसमा नसमेटिएको बताउँदै समेट्न सुझाव दिनुभयो । उहाँले मानवअधिकार शिक्षा विद्यालय तहको पाठ्यक्रममा समावेश गरेर पढाउन सकेमा उल्लंघनका घटनामा कमी आउने धारणा राख्नुभयो । पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा धनकुटामा रहेर मानवअधिकारसँग सम्बन्धित सरोकारवाला संस्थाका प्रतिनिधिहरु, न्यायिक समितिका प्रतिनिधीहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, इन्सेक पूर्व जिल्ला प्रतिनिधिहरु, पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन गर्दै इन्सेक जिल्ला प्रतिनिधीले जिल्लाको मानवअधिकारको अवस्था र विगत ६ महिनामा जिल्लामा जिल्लामा संकलन भएका मानवअधिकार उल्लंघनका घटना समावेश भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
ईश्वर थापा