नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न
ताप्लेजुुङ । २०८१ असार ३१ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनामाथि समीक्षा गरिएको छ । जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि ०८१ असार २९ गते समीक्षा गरिएको हो । जिल्लामा सन् २०२४ को ६ महिनाको (०८० पुस-०८१ असार) अवधिमा ३० ओटा मानव अधिकारसँग सम्बन्धित घटना अभिलेख गरेको इन्सेकले जनाएको छ । इन्सेक जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नु भएको अभिलेखका आधारमा सबैभन्दा बढी १६ घरेलु हिंसा, बलात्कार र कुटपिटका समान ६-६ ओटा जातीय विभेद एउटा र एउटा आत्महत्या दुरूत्साहनका घटना छन् । आठ वर्षीया बालिकादेखि ६८ वर्षीया महिला बलात्कार घटनामा पीडित भएको घटनालाई समीक्षामा उठाइएको छ । जिल्लामा प्राकृतिक समस्या र विपद्को पूर्व तयारीमा जोड दिनुपर्ने कुरा साथै हिंसा पीडित महिला तथा बालिकालाई राख्न जिल्लामा पुनस्थापना केन्द्र स्थापना गरिनु पर्ने कुरालाई जोड दिएको छ । एसईईको हालै प्रकाशित भएको नतिजामा जिल्लाका २३ सामुदायिक विद्यालयको नतिजा शूण्य भएको र एक बालिकाले एसइइमा असफल भएको भन्दै आत्माहत्या गरेको विषयलाई इन्सेकले समीक्षामा उठाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले मानव अधिकार सबैको सवाल भएका यसतर्फ जिल्ला प्रशासन कार्यालयले पनि काम गरी रहेको बताउनु भयो । साथै उहाँले जिल्लामा भएका मानव अधिकार सम्बन्धी भएका राम्रा कार्यलाई र अन्य छुटेका कुरालाई पनि समेट्न सुझाव दिनुभयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले आत्माहत्या घटना पनि मानव अधिकारसँग सम्बन्धित भएकाले इन्सेकलाई अभिलेख गर्न आग्रह गर्नुभयो । जिल्ला कारागारका प्रमख कुलेन्द्र खवासले कारागारमा क्षमताभन्दा तेब्बर कैदी तथा थुनुवा राखिएको भएपनि सेवा सुविधाबाट वञ्चित नगरेको बताउनु भयो । अधिकारकर्मी कुमार सिंवाले बसाइसराइले गाउँ उजाड भएकाले उक्त कुरालाई पनि समेट्न सुझाव दिनु भयो । समीक्षामा प्रमुख जिल्ला अधिकारी आचार्य, डिएसपी रावलसहित सशस्त्र प्रहरीका डिएसपी रविन सिलवाल, गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष खड्गविक्रम सुवेदी, अधिकारकर्मी सिवा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारको उपस्थिति थियो ।
एलिना दियाली