नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
काभ्रे । २०८१ असार २६ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम बनेपामा ०८१ असार २६ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काभ्रेले आयोजना गरेको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सुमित्रा आचार्यले सन् २०२४ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा काभ्रेमा घटेका मानव अधिकार उल्लङ्घनका घटना प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार काभ्रेमा ६ महिनाको अवधिमा १ सय २९ ओटा घटना घटेका छन् । यसमा बलात्कार, यौनदुर्व्यवहार, कुटपिट, व्यक्तिगत हत्या, अभद्र व्यवहार, बाल विवाह, जातीय विभेद, आर्थिक अधिकार, घरेलु हिंसा र पत्रकारलाई धम्की लगायतका मानव अधिकार उल्लङ्घनका घटनाहरु भएको उहाँले जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धुलिखेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी राजकुमारी श्रेष्ठले घरेलु हिंसाका घटनामा कमी आएको उल्लेख गर्नुभयो ।
मानव अधिकार सञ्जाल काभ्रेका संयोजक तथा इन्सेकका पूर्व जिल्ला प्रतिनिधि भोजराज तिमल्सिनाले विगत वर्षहरुको तुलनामा यस वर्ष व्यक्तिगत हत्या, बालिका बलात्कार र यौन दुर्व्यवहारका घटना बढेको बताउनु भयो । इन्सेकका पूर्व जिल्ला प्रतिनिधि हिरामान लामाले आफ्नो व्यक्तित्व विकास इन्सेकको बाल क्लवबाट भएको बताउँदै सामाजिक सञ्जालको प्रभावकारी प्रयोगबाट कानुन कार्यान्वयनको पाटोमा सहजीकरण गर्न अनुरोध गर्नुभयो । अग्रज पत्रकार सुरेश हुमागाईले कानुन र पाठ्यक्रममा केही सुधार गरेर समुदाय र विद्यालयमा सचेतनाका कार्यक्रम संचालन गर्न जोड दिनुभयो । गैरसरकारी संस्था महासंघ काभ्रेकी अध्यक्ष गंगा दोेङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाले आर्थिक मन्दिका कारण समाजमा हिंसा र आत्महत्याका घटना बढेको उल्लेख गर्दै वित्तिय संस्थाहरुलाई अनुशासित र मर्यादित बनाउन जोड दिनुभयो । कार्यक्रममा माइती नेपाल काभ्रेकी सुपरभाइजर गायत्री गौतम, महिला अधिकारकर्मी निर्मला काफ्ले र कल्पना विश्वकर्माले वर्ष पुस्तकमा समेट्नुपर्ने विषयवस्तुका विषयमा आफ्नो भनाइ राख्नु भएको थियो
सुमित्रा आचार्य