नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

दाङ । २०८१ मङ्सिर २६ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि दाङमा अभिलेख गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको अध्यक्षता तथा घोराही उपमनपाका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले घटना विवरण प्रस्तुत गर्नुभएको थियो । इन्सेकले दाङमा २०२४ जनवरीदेखि डिसेम्वरसम्म दाङमा २ सय ५० ओटा मानव अधिकार सम्वन्धी घटना अभिलेख गरेको छ । जसअनुसार बलात्कारका घटना ८८ ओटा, बलात्कार प्रयासका चार ओटा, यौन दुर्व्यवहार १२ ओटा र घरेलु हिंसाका घटना ८३ ओटा रहेका छन् ।

यस्तै हत्या १३ ओटा, हत्या प्रयास चार ओटा, जातीय विभेद एक ओटा, दुर्व्यवहार ६ ओटा, बन्द हडताल १२ ओटा, अपहरण तथा शरीर बन्धक दुई ओटा, अमानवीय व्यवहार दुई ओटा, कुटपिट आठ ओटा, सम्पती आगजनी एक ओटा, खाद्य अधिकार एक ओटा, धम्की एक ओटा, धरपकड एक ओटा, बम विष्फोट एक ओटा, बहुविवाह पाँच ओटा, बालविवाह तीन ओटा, मानव वेचविखन तथा ओसारपसार एक ओटा, हिरासतमा मृत्यु एक ओटा रहेको जिल्ला प्रतिनिधिले जानकारी दिनुभयो ।

   

सो अवसरमा बोल्दै घोराही उमनपाका उपप्रमुख हुमा डिसीले वर्ष पुस्तकले जिल्लामा मानव अधिकारको अवस्था उजागर गरेको भन्दै स्थानीय सरकारले घटना न्यूनीकरणका लागि सोही अनुसारको नीति कार्यक्रम तर्जुमा गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी जिल्ला प्रहरी कार्यालय दाङका इन्स्पेक्टर रामकुमार केसीले प्रहरी मानव अधिकारमैत्री व्यवहारमा प्रतिबद्ध रहेको भन्दै हिजो भन्दा आज सुधार गरिएको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय दाङका कानुन अधिकृत विजय गौतमले कानुनको पालना नहुँदा मानव अधिकारको संरक्षण हुन नसकेको भन्दै कानुन कार्यान्वयनमा भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । जिल्ला समन्वय अधिकारी सावित्री श्रेष्ठले मानव अधिकार प्रवर्द्धनकोको अभियानमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सरोकारवालाहरूले वर्षपुस्तकमा यौनिक अल्पसङ्ख्यका समस्यालाई पनि वर्ष पुस्तकमा समावेस गर्न सुझाव दिएका थिए ।

जयनारायण पुन