नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

चितवन । २०७७ पुस ६ गते

 

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते भरतपुरमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुनाकुमारी श्रेष्ठले बालिका बलात्कारका घटना बढ्दो क्रममा रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । कानुन बलियो बनेको अवस्थामा समेत बालिकाहरू सुरक्षित नहुनु कानुन कार्यान्वयनको कमजोरीको विषय भएको उपप्रमुख श्रेष्ठले बताउनुभयो । कार्यक्रममा यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनकी सहसंयोजक संगीता भट्टराईले मानव अधिकारको सरंक्षणमा राज्य र गैरराज्य दुवै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । यसैगरी, मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय सदस्य राजेन्द्र पौडेलले अपराधिक गतिविधि नरोकिनुमा प्रहरी प्रशासन र न्याय क्षेत्रको पनि कमजोरी रहेको बताउनुभयो ।

सन् २०२० मा चितवनमा १ सय १० ओटा घटना सङ्कलन भएको इन्सेक जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले बताउनुभयो । महिला बलात्कारका १५ र बलात्कार प्रयासका सात ओटा, बालिका बलात्कारका ३६ ओटा र ११ ओटा यौन दुव्र्यवहारेका छन् । चार जना महिला र पाँच जना पुरुषको हत्या भएको छ । बहुविवाहका १४ र आत्महत्या दुरुत्साहनका ती ओटा घटना भएका छन् । मानव बेचबिखनका चार, बम फिस्फोटका एक, हातहतियार सम्बन्धी एक र राज्य विरुद्धका अपराधका पाँच ओटा घटन गरी जिल्लामा जम्मा १ सय १० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको हो ।

दिपेन्द्र अधिकारी