नेपाल मानव अधिकार वर्ष पुस्तक – २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
कास्की । २०७७ पुस ७ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते कास्कीमा सम्पन्न भएको छ । कास्की जिल्लामा अघिल्लो वर्षको तुलनामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बृद्धि भएको तथ्याङ्कले देखाएको छ । इन्सेकको अभिलेख अनुसार सन् २०२० जनवरीदेखि हालसम्म १८ जना बालिका र तीन जना बालक बलात्कार तथा यौन दुर्व्यवहारका घटनाबाट पीडित बनेका छन् भने अघिल्लो वर्ष ६ जना बालिका पीडित बनेका थिए । इन्सेकका अनुसार सन् २०२० मा आठ जना महिला बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटनाबाट पीडित बनेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी निर्देशक चन्द्रकान्त चापागाईले मानव अधिकार वर्ष पुस्तक द्वन्द्वकालिन घटनाको अनुसन्धानमा सहयोगी बनेको बताउँदै इन्सेकको अभिलेख र प्रतिवेदन निकै महत्वपूर्ण रहेको भनाइ राख्नुभयो । गैरसरकारी संस्था महासङ्घ गण्डकी अध्यक्ष विना सिलवालले कोभिड–१९ महामारीपछि मानव अधिकार हननका घटना बढेको भन्दै यस वर्ष स्वास्थ्यका अधिकारका विषयलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालय कास्की, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चोनु गुरुङले बालिका मात्रै नभइ बालकको अधिकार विषयमा पनि बहस हुन आवश्यक रहेको बताउनुभयो ।
शान्तिका लागि नागरिक समाजको संजालका संयोजक विष्णु बरालले इन्सेकले मानवअधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मानव अधिकार वर्ष पुस्तक नेपालको मानव अधिकारको यथार्थ चित्रण भएको बताउनुभयो । उहाँले सोच र मानसिकता परिर्वतन नभएसम्म समाज परिर्वतन नहुने भनाइ राख्नुभयो । इन्सेक गण्डकी संयोजक शिव खकुरेलले इन्सेकले सन् १९९२ देखि निरन्तर प्रकाशन गर्दै आइरहेको नेपाल मानव अधिकार वर्ष पुस्तक नेपालको मानव अधिकार अवस्थाको ऐना भएको भनाइ राख्नुभयो ।
उहाँले पीडितलाई न्यायको पहुँचसम्म पुर्याउनका लागि मानव अधिकार वर्ष पुस्तक महत्वपूर्ण संग्रहको रुपमा रहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट सङ्घले जारी गरेका मध्ये ६ ओटा महासन्धिहरु नागरिक राजनैतिक अधिकार, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार, महिला माथि हुने सबै भेदभाव उन्मुलनको महासन्धि, यातनाविरुद्धको महासन्धि, बाल अधिकार महासन्धि र जातिय विभेदविरुद्धको महासन्धिमा आधारित भइ मानव अधिकार वर्ष पुस्तकमा अभिलेखिकरण गरिने जानकारी दिनुभयो ।
सुशन घिमिरे