नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

भक्तपुर । २०७७ पुस ७ गते

 

भक्तपुरमा पुस ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२० भित्र जिल्लामा सङ्कलन गरिएका १ सय ६ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा समीक्षा गरिएको थियो । जसमा हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुर्व्यवहार, बहुविवाह लगायतका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना अभिलेख भएका छन् । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक जुना बस्नेतले घरेलु हिंसाबाट महिलाहरू पीडित भएको बताउँदै पीडित महिलाहरूलाई आरक्षण गर्ने व्यबस्था राज्यले नगरेसम्म हिंसाका घटनामा कमी नआउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “एउटा लोग्ने दिनभरी घुम्छ, राती घरमा श्रीमतिको चाहना विपरित जबरजस्ती करणी गर्छ, नमानेमा परपुरुषको आरोप लगाउँछ, कुटपिट गर्छ, लोग्नेका विरुद्ध उजुरी गरे भरे त्यहीँ घरमा गएर बस्नु पर्छ, यस्तो अबस्थाम कसरी पीडित महिलाले न्याय पाउँछन् ।” पीडित महिलाले लोग्नेका बिरुद्ध उजुरी दिए लगत्तै ती महिलाको सुरक्षा र छुट्टै आवासको व्यबस्था गर्ने हो भने धेरै पीडित महिला न्यायका लागि आउने बताउँदै उहाँले न्यायिक समितिसम्म आउने गुनासोहरू यस्तै समस्या बोकेर आउने गरेको बताउनुभयो । सूर्यविनायकमा एकल महिलाहरूको छ्ट्टै समूह बनाएर कार्यक्रम सञ्चालन गरेको बताउँदै उपमेयर बस्नेतले भक्तपु्र जिल्लामा पीडित महिलालाई राख्नका लागि सुरक्षित आवास गृह बनाउने गरी छलफल अगाडि बढाएको बताउनुभयो ।

कोभिड सङ्क्रमणका कारण सबै परिवार एकै घर तथा कोठामा कोचिएर बस्नु पर्दा धेरै महिला तथा बालिकाहरू हिंसामा परेको बताउँदै आफन्तबाटै धेरै महिला पीडित भएको बताउनुभयो । कानुनलाई कार्यान्वयनमा ल्याउन तीन तह कै सरकार, सुरक्षा निकाय, सञ्चारकर्मी, मानव अधिकारकर्मी र समाजका सरोकारवाला निकाय एक भएर लाग्नु पर्ने उपमेयर बस्नेतको को भनाइ थियो । समीक्षा कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले अधिकांश आराधिक घटना मदिरा र लागूऔषध सेवनसँग जोडिएर हुने गरेको बताउँदै शिक्षा र चेतना बढ्दै गएकाले घटनाहरू लुक्ने कम भई प्रहरीसम्म उजुरी दिन आउने क्रम बढेको बताउनुभयो । अपराध नियन्त्रणमा सबैको हातेमालो आवश्यक रहेको बताउदै उहाँले कोभिड सङ्क्रमणको कारण चैतदेखि भएको लकडाउले पनि यस वर्ष मानव अधिकार तथा ज्यादतिका घटनामा कमी आएको आएको हुनसक्ने बताउनुभयो ।

डिएसपी गिरीले जुनसुकै अपराधिक घटनामा पनि अपराधीलाई जोगाउन दबाब र प्रभावमा नपरी कारबाही गरिने बताउँदै अपराधका घटनालाई बाहिर ल्याई दोषीलाई कारबाहीको दायरामा ल्याउन समुदायले सहयोग गर्नुपर्ने औल्याउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले अपराधका घटना न्यनिकरण गर्न सबैको सहयोग आवश्यक रहेको बताउँदै अधिकार र कानुनका कुरा अझै बुझाउन बाँकी रहेको बताउनुभयो । उहाँले प्रत्येक पालिकामा न्यायिक समिति रहेकाले कस्ता घटना कसरी घटेका छन् र घटना न्यूनिकरणमा कस्तो भूमिका निर्वाह गर्ने भनेर लाग्नु पर्ने औल्याउँदै नयाँ बस्तीमा आउने नयाँ अनुहार र व्यक्ति कस्ता छन् भनेर अभिलेख राख्नु पर्ने बताउनुभयो । नेपाल बार एसोसियसन भक्तपुरका अध्यक्ष रविन्द्र प्रधानले महिला हिंसा र ज्यादतीका धेरै घटनाहरू लुकेर बसेको र न्यायका लागि प्रहरी तथा अदालतसम्म नआउने गरेको बताउँदै जिल्लाका सबै नगरपालिका, प्रहरी र अदालतको तथ्याङ्क एउटै हुनुपर्नेमा जोड दिनुभयो । प्रहरीसम्म नआएका घटनाहरू समाजमा रहने बताउँदै उहाँले त्यसलाई तथ्याङ्कमा समेट्नु पर्ने औँल्याउनुभयो । त्यस्तै गैरसरकारी संस्था महासङ्घ भक्तपुरका कार्यबाहक अध्यक्ष जयराम थापाले अपराध न्यूनिकरणमा सङघसंस्थाले पनि महत्वूर्ण भूमिका निर्वाह गर्नुपर्ने औँल्याउनुभयो ।

रमेश गिरी