नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा सम्पन्न
बाँके । २०७७ पुस ८ गते
पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पाल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा पुस ६ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले एक वर्षको अवधिमा जिल्लामा सङ्कलित घटनाहरू प्रस्तुत गर्नु भएको थियो । तिमिल्सिनाले एक वर्षको अवधिमा पाल्पामा बाल यौन दुर्व्यहारका चार वटा, बालिका बलात्कार सात वटा , महिला बलात्कार आठ वटा, जातीय विभेदको एक घरेलु हिंसाका ४४ वटा गरी ६४ वटा घटना प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले मानव अधिकारको बिषय प्राथमिकताको बिषय भएको बताउनु भयो । न्यौपानेले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक एउटा ब्रान्ड जस्तै भएको जसका कारण सरकारी गैरसरकारी निकायहरूको नजरमा विश्वनीय रहेको बताउदै यसको निरन्तरताको लागि शुभ कामना दिनु भयो ।
प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को वार्षिक पूर्व समीक्षा पुस ७ गते सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्लामा गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटना नभएको बताउनु भयो । उहाँले मानव अधिकारको विषयमा प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले लुकेका घटनाहरूलाई बाहिर ल्याउन सरोकारवाला निकायले सहयोग गर्न आग्रह गर्नुभयो । इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले सम्मानित रुपमा बाँच्न पाउने अधिकार एक, कारागारमा मृत्यु एक, बाल अधिकारमा हत्या एक, बालिका बलात्कार तीन, परिवारजनबाट हत्या एक, महिला बलात्कार दुई, सार्वजनिक सम्पत्ति क्षति एक, अन्यबाट हत्या एक वटा भएको भएको विवरण प्रस्तुत गर्नु भएको थियो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज