नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इलाम । २०७७ पुस ८ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाहरू प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको छ । इन्सेक इलामको आयोजना पुस ८ गते वर्ष पुस्तक २०२१ का लागि अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमाथि सरोकारवाहरूबीच समीक्षा सम्पन्न गरिएको हो । अन्तरक्रियमा सहभागी अधिकारकर्मीहरूले कोभिड–१९ को सङ्क्रमणको खतरा बढीरहेको अवस्थामा जिल्लामा सञ्चालन भइरहेका विद्यालय, हाटबजार, यातायात, कार्यालयलगायतका क्षेत्रमा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड अनुसार नभएको गुनासो गरेका छन् ।
मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवेले इन्सेकले वर्ष पुस्तक प्रकाशन गर्नु अघि जिल्लाको मावन अधिकारको अवस्था विषयमा गम्भीर छलफल गर्ने थलो र्सिजना गरेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सटेन्द्र जबेगुले जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू छुट्न नहुने धारणा राख्नु भयो । उहाँले जिल्लामा सञ्चालित हाइड्रो पावरहरूले खोलाको सबै पानी प्रयोग गरेर प्रकृति पुजक समुदायको संस्कृति र प्रकृति तथा जलचर प्राणीमाथि धावा बोलेकोमा यस्ता किसिमका घटनालाई पनि इन्सेकले समेट्नु पर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ प्रदेश समिति उपाध्यक्ष सोमनाथ सुसेलीले सामाजिक अपराधका घटना लुकेको, श्रम शोषण र घरेलु हिंसा बढेको, कोभिड–१९ को सङ्क्रमण बढेसँगै श्रमिक तथा श्रमजीवी वर्गको खान र बाँच्न पाउने अधिकार हराएको बताउनु भयो । उहाँले विद्यालयहरू स्वास्थ्य मापदण्ड विपरित सञ्चालन भएकाले त्यसले खतरा निम्त्याउने औंल्याउनु भयो । यातायात व्यवसायी गृष्म सुब्बाले यातायात क्षेत्रका श्रमिकलाई सरोकारवाला निकायले श्रमिकका रूपमा नहेरिँदा कोभिड–१९ का सन्दर्भमा ती श्रमिकहरू खानै नपाउने अवस्थामा पुगेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी नविनराज राईले हिरासतमा रहेकाहरूलाई सम्मानजनक व्यवहार गर्न प्रहरीलाई प्रेरित गरेको बताउनु भयो । उहाँले आर्थिक अभावका कारण घरेलु हिंसा, आत्महत्या, आतङ्कका गतिविधि, चन्दा आतङ्क बढीरहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक तत्कालका लागि मात्र नभएर भविष्यका लागि राम्रो दस्तावेज भएकोले प्रशंसा गर्नुभयो ।
स्वास्थ्य संस्थामा औषधि अभावका विषयमा स्थानीय सरकारहरू जिम्मेवार बन्नुपर्ने बताउँदै सेढाईंले उपभोग्य सामग्रीको मूल्य वृद्धि, कालोबजारी, चन्दा आतंक लगायतका विषयमा आफूहरु सचेत हुने बताउनु भयो । इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल, गैसस महासंघका जिल्ला अध्यक्ष कमल नेपाल, अधिवक्ता तारानाथ पराजुली, तारा घिमिरे लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियोे । मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले वर्ष पुस्तकको उद्देश्यमाथि प्रकाश पार्नुुभएको थियो । इन्सेक प्रतिनिधिले २०२१ का लागि तयार गरेको प्रतिवेदनमा बालिका बलात्कारका आठ, महिला बलात्कारका ६, बहुविवाहका दुई ओटा, कुटपिटका दुई ओटा, जातीय विभेदका एक ओटा, बलात्कार पछि हत्याको दुई ओटा, मानव हत्याका पाँच ओटा घटनाहरू अभिलेखमा उल्लेख छ ।
कोकिला ढकाल